काठमाडौं - शिक्षक सेवा आयोगले तत्काल स्थायी शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ । तिहारलगत्तै विज्ञापन खुलाउने आयोगको तयारी छ । जसका लागि आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गर्ने योजना बनाएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले मन्त्रीसँग एक पटक छलफलपछि विज्ञापन खुलाउने आन्तरिक तयारीमा आयोग रहेको जानकारी दिए । एउटा तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त छ ।
आयोगका अधिकारीहरुका अनुसार नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या देखिएको छ ।
संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको हो । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।