चिलंखा – दोलखाको विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । जर्मन नागरिकहरुको सहयोगमा चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ ।
अस्पताल भवनको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले शनिवार एक समारोहकाबीच उद्घाटन गरे । भवन शिलान्यासपछि आयोजित समारोहमा वोल्दै जिसस प्रमुख पाण्डेले स्थानीय जनताका लागि अस्पताल खुसी र ठुलो उपलव्धीको विषय भएकाले अस्पताल निर्माण र व्यवस्थापनमा सरकारको पनि सहयोग रहनुपर्नेमा जोड दिए ।
अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत संचालन हुनेछ । केन्द्रका अध्यक्ष प्रविण खड्काका अनुसार अस्पताल संचालनका लागि २१ कोठे भवन निर्माण हुनेछ । जसको डिजाईन जर्मन ईन्जिनियरहरुको टोलीले गर्नेछ । करिव तीन करोड ८७ लाख रुपैयाँ भवन निर्माणको प्रारम्भिक लागत अनुमान गरिएको छ । ६ देखि ८ महिनाभित्र अस्पतालको भवन निर्माण गरिसक्ने लक्ष्य छ ।
अस्पतालको जिम्मा नेपाल सरकारले नलिएसम्म त्यहाँ आवश्यक जनशक्ति र औषधोपचारको व्यवस्था समेत हेल्थ नेपाले गर्ने भएको छ ।
चिलंखाबासी समेत रहेका छिरिङ शेर्पासँग बिवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको बताईएको छ ।
अस्पताल संचालनका लागि करिव साँढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा पास भैसकेको अध्यक्ष खड्काले जानकारी दिए । दुई रोपनी ईको हिमाल नामक संस्थाले खरिद गरिदिएको, आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान गरेको र बाँकी जग्गा ३९ जना दाताहरुबाट संकलन भएको रकमबाट खरिद गरिएको हो ।
अस्पताल निर्माणछि गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ नम्बर वडाका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
कार्यक्रममा विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले अस्पताल संचालनका लागि स्थानीय सरकार हातेमालो गर्न तयार रहेको भन्दै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरे । शिलान्यास कर्याक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रवक्ता मुरारी शिवाकोटी, विगु गाउँपालिका उपाध्यक्ष सञ्जिव ओली, वडा अध्यक्ष मधुकर गुरुंग, विभिन्न राजनीतिक दलका नेता, जर्मन चिकित्सक, ईन्जिनियर लगायतको उपस्थिति थियो ।