बाँचेकै छ
ए साँइला दाई भन्दिनु है
मेरी आमालाई म सन्चै छु भनेर
तर
विन्ति नभनिदिनु होला तपाईले
मेरी आमालाई मेरो तितो यथार्थता
प्रवासको कारुणिक कथाहरु
विदेशमा भोग्दै गरेका व्यथाहरु
त्यो नसुनेकै राम्रो हुन्छ
त्यो नबताएकै कल्याण हुन्छ
त्यसैमा सबैका आमाहरु खुसी हुन्छन ।
आगोभन्दा तातो मरुभुमिको शहरमा
हिँउभन्दा पनि चिसो पराईको भुमिमा
पैसाको न्यानोपन र शीतलता खोज्दा
मैले आफ्नो स्वाभिमान धितो राखेर
पैसाको विउ रोप्दै छु,
मल,जल र लगनले मरुभुमिमा
सुन्दर फुल फुलाउन प्रयासरत छु
केवल अरुको लागि
आफ्नो श्रम र पसिना बेचेर
जीन्दगीको यात्रा चलाइरहेछु ।
स्वदेशमा केहि गरेर देखाउने
ठुलो सपना र रहर थियो
त्यहि ठुलो सपनाको भारी बोकेर
गाउँबाट शहर पसेको हो
तर
त्यहि सपनाको भारीले थिचेर
रहरको सिमानाले मिचेर
पर पर विदेशसम्म धकेलिदियो ।
देश हाक्नेहरुले
आफ्नै आमाको अस्मिता बेचेर
सत्ता र शक्तिको आडमा
मोज र भोज गरिरहेछन् ।
अझ अचेल त
आफ्नै चेलिबेटि बेचेर
जोडदार नारी दिवस मनाइरहेका छन् ।
युवाहरुलाई हातमा पासपोर्ट थमाए
विदेश जान उक्साइरहेछन्
रेमिट्यान्सको ठुलो सपना देखाएर
विद्यालयका पाठहरुमा घोकाइरहेका छन्
विदेश पठाउने खेलो गरिरहेका छन् ।
विन्ति साइला दाई
मेरी आमालाई यो नभन्दिनु होला ।।
डढेलोले खाएको बुढो रुख झै
जीन्दगी पिडा खपेर बाँचेको छ
आँशु पिएर हाँसेको छ
रत
मेरी आमा खुसी छिन
हाम्रो परिवार चलेको छ ।
अर्को कुरा साइला दाई
तपाईले पनि आफ्नो कुरा
आमालाई नभनु होला
त्यहाँभित्र हाम्रो सम्पुर्ण
जीवन अल्झेको छ ।
यदि तपाईले सुनाउनु भयो भने
आमाहरुले साउती गरेर
हाम्रो दुःखको पोको सुनाउलान है
बरु भनिदिनु होला आमालाई
आफ्नो माटो उजाड पारेर
पराईको भुमिलाई श्रृगारदै छौ
हामीले संझेका छौ बनपाखा र खोलानाला
अनि
सामाजिक सञ्जालका भित्ताहरुमा
हेर्दै छौ रमिते भएर देशको दुरदशा
विकृति,विसंगति र भ्रष्टचारका नाटकहरु
कान भएर पनि बहिरा भएका छौ
आँखा भएर पनि अन्धा भएका छौ
साँच्चै साँची किनारा भएका छौ
केवल भिडको रमित जस्तो ।।
अरु त के भन्नु साइला दाइ
वालुवा पेलेर पानी र तेल निकाल्लै छौ
जीन्दगी घोटेर पसिना र पैसा बनाउदै छौ
बस्
यति भनिदिनु मेरी आमालाई,
यो भन्दा बढी त उहाँ आफै बुझ्नु हुन्छ
उहाँ आफै एक युग हो
उहाँ आफै एक संघर्ष हो
समर र पसिना पनि हो
अझ जीउदो इतिहास हो
र
यो पनि भनिदिनु साइला दाइ
सधै आफु मरेर भए पनि
त्यो पराई धर्तिमा इमान बेचेको छैन
श्रम मात्र बेचेको छ
सधै देश र आमा संझेर
चट्टान भै बाँचेको छ ।।
प्रेमा संगम
कालिन्चोक ६, दोलखा
हाल काठमण्डौ