चरिकोट – प्रतिपक्षि दल नेकपा एमाले यतिबेला देशभर अधिवेशनको चटारोमा छ । पार्टी केन्द्रको निर्देशन अनुसार वडा अधिवेशनपछि अहिले धमाधम गाउँ र नगर अधिवेशनमा नेता कार्यकर्ताहरु व्यस्त छन् । सबै वडा अधिवेशन सम्पन्न गरिसकेको दोलखा एमालेले पनि सोही अनुसार गाउँ÷नगर अधिवेशनहरु सम्पन्न गर्दैछ । उसले जिल्लाभर व्यापक चहलपहल बढाएको छ ।
जिल्लामा दुई नगर र ६ गाउँपालिका गरी ९ स्थानीय तह छन् । जसमध्ये बुधवारसम्म जिरी नगरपालिका, गौरीशंकर र मेलुङ गाउँपालिकाको अधिवेशन सम्पन्न भैसकेको छ ।
ती अधिवेशनहरुको दृष्य आम निर्वाचनको झल्को दिने खालको छ । अधिवेशनको रौनकता र उत्साहले निर्वाचनलाई स्वागत गरेको जस्तो आभास हुन्छ । बाजागाजा सहितको र्याली, नाराजुलुस, कलाकारहरुको छुट्टै सांगितिक प्रस्तुतीको तामझाम र नेताहरुको भाषणले जो कसैलाई निर्वाचन सम्मुख आएजस्तो लाग्छ । जिरी नगरपालिका, गौरीशंकर र मेलुङ गाउँपालिकाको अधिवेशन त्यस्तै उल्लासमय देखिन्थ्यो ।
अधिवेशनका वक्ताहरुको भाषणपनि निर्वाचन केन्द्रीत देखिन्छ । मेलुङमा बुधवार आयोजित नवनिर्वाचित कमिटी घोषणा सभामा वोल्ने प्राय सबै नेताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने आधार प्रस्तुत गर्दै एमालेको विजय सुनिश्चित रहेको दावी गरे । पुर्व संचार तथा सूचना प्रविधि मन्त्री समेत रहेका एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले एमालेको विजयमा कुनै शंका नरहेको बताए ।
‘एमाले कुनै हालतमा कमजोर छैन, बरु थप बलियो बन्दै गएको छ, एमालेको विचार र गरेको काम मन पराएर प्रवेश गर्नेहरुको लर्को छ, उनले भने,‘ढुक्क हुनुस् अर्को निर्वाचनमा हामी बहुमत लिएर आउँछौं ।’
एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले एकातिर सबै दल र अर्कोतिर एमाले एक्लै भएपनि निर्वाचन जित्ने तागत एमालेसँग रहेको जिकिर गरे । ‘एमालेबाहेकका कम्युनिष्ट पार्टीहरु छिट्टै सकिन्छन्, कांग्रेससँगपनि एमालेसँग लड्ने तागत छैन, पोखरेल भन्छन्,‘त्यसैले एमालेले चुनाव जित्छ ।’
एमाले जिल्ला उपाध्यक्ष समेत रहेका मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मुलुकको आमुल परिवर्तन गर्ने खाका एमालेसँग मात्रै रहेकाले एमालेले जित्नुको विकल्प नरहेका बताए । एमाले जिल्ला नेताहरुका अनुसार बाँकी भीमेश्वर नगरपालिकासहित अन्य पाँच गाउँपालिकाको अधिवेशनपनि त्यस्तै भव्य रुपमा सम्पन्न गर्ने तयारी छ ।