चरिकोट - नेकपा एमालेका नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले अब अन्य कम्युनिष्ट पार्टीहरुको औचित्य सकिएकाले जनता एमालेमा गोलबन्द हुने बताएका छन् । नेपाली कांग्रेस जस्ता दक्षिणपन्थी शक्ति र विदेशीहरुको दलाली गर्ने एकिकृत समाजवादी र माओवादी कम्युनिष्ट पार्टी हुन नसक्ने उनले बताए ।
नेकपा एमाले कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ को अधिवेशनलाई सम्बोधन गर्दै एमाले बाग्मती प्रदेशका अध्यक्ष समेत रहेका नेता पोखरेलले नेपालमा एमालेबाहेक अन्य कम्युनिष्ट पार्टी पनि छन् भन्ने भ्रमबाट जनता मुक्त हुनुपर्ने बताए । ‘बहुमतको कम्युनिष्ट सरकार गिराउने, षड्यन्त्रमुलक ढंगले अदालतको परमादेशबाट प्रतिगामी सरकार बनाउने, विदेशीहरुहरुलाई खुसी पार्नेहरु कसरी कम्युनिष्ट हुनसक्छन् ? प्रश्न गर्दै उनले भने, ‘यो भ्रमबाट जनता बिस्तारै मुक्त हुँदै जानेछन् र एमालेमा गोलबन्द हुनेछन् ।’
अर्को एक प्रसंगमा उनले अब हुने तीनै तहको निर्वाचनमा दोलखाका सबै स्थानीय तह, प्रदेश र संघमा एमाले विजयी सुनिश्चित रहेको दावी गरे । कांग्रेस, माओवादी लगायतका दलहरु गठनबन्धन गरेर आएपनि एक्लै चुनाव जित्ने तागत एमालेसँग रहेको उनको भनाई छ ।
कार्यक्रममा उद्यमी तथा एमाले नेता वालकृष्ण शिवाकोटीले समृद्ध नेपाल र सुखी नेपालको राष्टिय आकांक्षा पुरा गर्ने भिजन भएकाले एमाले थप लोकप्रिय पार्टीको रुपमा स्थापित हुँदै गएको धारणा राखे ।
यसैबीच नेकपा एमाले कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ को अधिवेशनले दिपक राउतको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित गरेको छ । वडा कमिटिको उपाध्यक्षमा कल्याणी शिवाकोटी, सचिवमा सुरज बुढाथोकीलाई निर्वाचित गरेको छ । अधिवेशनले राष्टिय युवा संघ, अखिल नेपाल महिला संघ लगायतका जनवर्गिय संगठनहरुपनि निर्वाचित गरेको छ ।