चरिकोट – दोलखामा नेकपा (एकिकृत समाजवादी) पार्टीमा लाग्ने अनुमान गरिएका नेता कार्यकर्ताहरु एमालेमा खुल्ने क्रम क्रम तिब्र भएको छ । एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) मा लाग्ने भनिएका जिल्ला स्तरिय प्रभावशाली नेता देखि स्थानीय अगुवा कार्यकर्ताहरुले मुलघरमै रहने निर्णय लिन थालेका हुन् ।
एमालेमै सक्रिय रहने निर्णय गरेकाहरुमा स्वर्गीय नेता पशुपति चौलागाईका सहोदर भाईहरु हेमन्त चौलागाई र कुमार चौलागाई, महिला नेतृ रोजकुमारी चौलागाई, नेता कमल दाहाल, वडा अध्यक्ष रेशमराजस्वराज रिमाल लगायतका नेताहरु छन् । पार्टी विभाजनपछि उनीहरु लामो समय कतै नलागी मौन रहेका थिए । पार्टीको कार्यक्रमहरुमा नेकपा एसका नेताहरुले स्वर्गीय नेता पशुपति चौलागाईलाई माधव नेपालको कित्तामा उभ्याउँदै कार्यकर्ता र जनस्तरमा प्रशिक्षण दिने गरेका छन् ।
केही साता अघि एमालेले सदरमुकाम चरिकोटमा आयोजना गरेको जिल्ला स्तरियमा भेलामा त्यसको खण्डन गर्दै भाई हेमन्तले स्वर्गीय नेता चौलागाई जहिल्यै पार्टी एकताको पक्षमा उभिने गरेको भन्दै आफुहरु एमालेमै रहेको प्रष्ट्याएका थिए । ‘सिंगो जीवन एमालेमै समर्पित गरियो, आँशु, रगत, श्रम, पसिना यहि पार्टीमा लगाईएको छ, अन्य पार्टी र विभाजन कसरी रोज्न सकिन्छ, उनले भनेका छन् ।’ वडा अध्यक्ष समेत रहेका स्वर्गीय नेता चौलागाईका अर्का सहोदर भाई कुमार चौलागाई पनि एमालेकै पक्षमा उभिएका छन् । केही समयदेखि मौन रहेका वैतेश्वर गाउँपालिकाकै अर्का वडा अध्यक्ष रेशमराजस्वराज रिमाल पनि एमालेमै सक्रिय रहने भएका छन् ।
यस्तै सुरुमा नेकपा (एस) मा लागेकी प्रभावशाली महिला नेतृ रोजकुमारी चौलागाई एमालेमै फर्किएकी छन् । उनी पछिल्लो समय एमालेको बैठकहरुमा नियमित उपस्थित हुँदै आएकी छन् । नेकपा एसमा लागेका बैतेश्वरका अर्का नेता कमल दाहाल पनि मुलघरमै फर्किने निर्णयमा पुगेका छन् ।
एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बाटो बिराएर एकिकृत समाजवादी पार्टीमा लागेका नेता कार्यकर्ताहरुलाई पनि घर फर्काउने प्रयास जारी रहेको बताए । एमाले दोलखाका शिर्ष नेताहरुले नेकपा एसका नेताहरु शिव प्रसाद भण्डारी, प्रोणप्रताप केसी लगायतका नेताहरुसँग भेटघाट र छलफल जारी राखेका छन् । विजयादशमीको अवसरमा पनि उनीहरुबीच चियापान र भेटघाट भएको थियो ।