चरिकोट – नेकपा एमालेका नेता एवं पुर्व सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले दोलखामा आगामी निर्वाचनमा एमालेको विजयलाई कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । अन्य स्थानको निर्वाचनमा तलमाथि भएपनि दोलखामा जस्तोसुकै लडाई लडेर एमालेलाई विजय गराउने उनले ठोकुवा गरे ।
एमाले दोलखाको जिल्ला कमिटी बैठकलाई बुधवार सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका गुरुङले यस्तो बताएका हुन् । ‘दोलखामा एमाले कहिल्यै कमजोर नहुनेगरी पार्टी निर्माण गर्ने विस्वास दिलाउन चाहन्छु, आस्वास्त पार्दै उनले भने, जस्तोसुकै लडाई लडेर भएपनि तीनै तहको निर्वाचनमा पार्टीलाई जिताईन्छ ।’
पार्टीलाई बलियो बनाउन आ आफ्नो तर्फबाट त्याग गर्दै सकारात्मक भुमिका निर्वाह गर्न पनि उनले पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टी चोईटिएको असर दोलखामा खासै नपरेको र अन्य पार्टीको बलियो नबनेको दावी गर्दै उनले तीन तहकै निर्वाचनमा पार्टीलाई विजयी गराउने रणनीतिका साथ योजना बनिरहेको उल्लेख गरे । यही कात्तिक ६ गतेदेखि सुरु हुने पार्टीको वडा र गाउँनगर अधिवेशनलाई पार्टीको एकताको अभियानको रुपमा प्रयोग गर्न उनले पार्टी पंक्तिलाई आव्हान गरे ।
एमाले दोलखा जिल्ला कमिटिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा बसेको बैठकमा गाउँनगर कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए ।