काठमाण्डौं - सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।
पछिल्लो ४ दिनयता वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको तथ्यांक छ । त्यस्तै मन्त्रिपरिषद बैठकले घर, बसोबास नष्ट भई खाद्यान्नसमेत नभएका परिवारलाई ५ जनासम्म भए प्रति परिवार १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजार रुपैयाँ नगद सहायता दिने निर्णय पनि गरेको छ ।
बाढी पहिरोमा परी घाइते हुनेहरुको सम्पूर्ण व्यवस्था सरकारले गर्ने, बाढी, पहिरो र डुवानको क्षतिको आँकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्ने, अत्यावश्यक भौतिक संरचनाको मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिए ।
यसैबीच बुधवार नै सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएका परिवारलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।