Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न वंगलादेशसँग प्रस्ताव

काठमाडौँ - सरकारले खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न वंगलादेशसँग प्रस्ताव गरेको छ । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भएको उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए ।

सरकारले केहीदिन अघि भारतको बिहार राज्यसँग पनि विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको थियो । नेपालले बंगलादेशसँग विद्युत् व्यापारका लागि भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । बंगलादेशले सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न चासो देखाउँदै आएको छ ।

ती आयोजनामा संयुक्त लगानी गर्ने विषयमा पनि बैठकमा छलफल भएको हो । सुनकोसी–३ बाट ५ सय ३६ मेगावाट र खिम्ती–शिवालयबाट ६ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना छ । नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कम्पनी अफ बंगलादेश (पीजीसीबी) को संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा लगानी कम्पनी खोलेर आयोजना विकास गर्न छलफल भएको भेटवालले जानकारी दिए ।  यी दुवै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन विद्युत् विकास विभागले गरिरहेको छ ।

‘बास्केटमा भएका आयोजना मध्ये छलफल गरेर यी दुई आयोजना छानिएका हुन्, सचिवस्तरीय बैठकले यसको अन्तिम टुंगो लगाउनेछ,’ भेटवालले भने ।’

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने अध्ययनबाट देखिएको छ । रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाएर विजुली उत्पादन गर्न अध्ययन भैरहेको छ ।

१३२९ मिटर हेड निकालेर तामाकोसी नदी नजिकै विद्युतगृह बनाउँदा यसले वर्षमा १९६५ दशमलव ८४ गिगाहर्ज वाषिर्क ऊर्जा उत्पादन गर्ने अनुमान छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update