चरिकोट – दोलखा घर भई प्रेसको महत्वपुर्ण जिम्मेवारीमा पुगेका व्यक्तिहरुलाई चरिकोट मिडिया फाउण्डेशनले सम्मान गरेको छ । सदरमुकाम चरिकोटमा आईतवार आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेत, संचालक समिति सदस्य चिरञ्जीवि मास्के र पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडालाई सम्मान गरिएको हो ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष जीवन लामा लगायतले उनीहरुलाई माला लगाएर सम्मानपत्र प्रदान गरे । बस्नेत मिडियाको नियमक निकाय प्रेस काउन्सिलको अध्यक्षमा गत आर्थिक वर्ष नियुक्त भएका हुन् । पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य समेत रहेका दोलखाका अग्रज पत्रकार मास्के एक वर्षदेखि काउन्सिलका सदस्यको जिम्मेवारीमा छन् । खतिवडा पत्रकार महासंघको गत महाधिवेशनबाट खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
मिडियाको दिगोपनाबारे अन्तरक्रिया
कार्यक्रमका वक्ताहरुले सञ्चारमाध्यमहरुको दिगोपनाका लागि सबै सरोकारवालाहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीले मिडियाका मालिकहरु मोटाउँदै जाने र श्रमजीवि पत्रकारहरुले उचित पारिश्रमिक नपाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवि मास्केले मिडिया मर्यादित र गुणस्तरिय हुनुपर्नेमा जोड दिँदै मोफसलका मिडियाको वर्गीकरणका लागि प्रेस काउन्सिलले खुकुलो मापदण्ड बनाउँदै नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औल्याए । प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले मिडिया व्यवसायिक बन्नसके दिगोपनाको आधार स्वतः बन्दै जाने बताए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले मिडियाको दिगोपनाका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई मिडियामैत्री बन्नुपर्ने बताउँदै महासंघ त्यसमा लाग्ने योजनामा रहेको जानकारी दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका वाग्मती प्रदेश संयोजक शरद सापकोटा, हुराडेक नेपालका अध्यक्ष उद्धव पोखरेल, गायत्री आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ दोलखा शाखाका सचिव दिल बहादुर केसीले दोलखाका सञ्चारगृहरुको दिगो विकास र सरोकारवालाहरुको दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गरे ।