Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रेस काउन्सिलका अध्यक्ष भन्छन् : पत्रकारले लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन भैरहेको छ, 

चरिकोट – प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतले पत्रकारले पत्रकारिताको लाईसेन्स लिनुपर्ने विषयमा अध्ययन सुरु भएको बताएका छन् । पत्रकारले लाईसेन्स लिनु पर्ने या नपर्ने भन्ने विषयमा काउन्सिल आफैले बहस सुरु गरेको जानकारी दिँदै उनले यो अध्ययनको विषय भएको बताए ।

चरिकोट मिडिया फाउन्डेशनले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको सञ्चारमाध्यमहरुको दिगोपनाका लागि सरोकारवालाहरुको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । ‘डाक्टरले लाईसेन्स लिनुपर्ने, वकिलले लाईसेन्स लिएपछि मात्रै वकालत गर्न पाउने, पत्रकारले चाँही पढ्नै नपर्ने, अनुभवको आधारमा हुने, पढेर पनि लाईसेन्स नलिने ! यो के हो भन्दै उनले प्रश्न गरे ।

हालको अभ्यासले मिडिया उद्योग धान्न नसक्ने र अघि बढ्नेमा उनले आशंका व्यक्त गरे । ‘यस्तो तरिकाले नेपाली मिडिया उद्योग कति धान्न सक्छ ? कति अगाडी बढ्नसक्छ, प्रश्न गर्दै उनले भने, त्यसैले यो गम्भिर अध्ययन र बहसको विषय छ, हामी यसलाई अघि बढाउँछौं ।’ 

गैर पत्रकारले पत्रकार महासंघको सदस्यता लिईरहेको भन्दै उनले महासंघको झण्डै तीन हजार सदस्य पत्रकार नरहेको सूचना आफुसँग रहेको र त्यसलाई शुद्धिकरण गर्नुपर्ने पनि उनले बताए । 

लगानीको सुनिश्चितता बिना मिडिया हाउस खोल्ने लहडले त्यसको निरन्तरतामा प्रश्न उठेको भन्दै उनले पहिल्यै धरौटीको व्यवस्था हुनुपर्ने उनले बनाए । अन्य धेरै क्षेत्रमा लगानी गर्नसक्ने ठुला मिडिया हाउसले श्रमजीवि पत्रकारमाथी शोषण गर्नु दुखद भएको उनको भनाई छ ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update