चरिकोट – कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङकी रुपमाला पोत्रेलको घर रानीवनबाट झरेको पहिरोले तान्नै लागेको छ । घर पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारले घर छाडेको निक्कै समय भैसक्यो । बिस्थापित भएर दुई महिनादेखि आफन्तकोमा शरण लिएर बसिरहेकी उनले अर्को घर बनाउन सक्ने अवस्था छैन । भूकम्पपछि बल्लतल्ल पुर्ननिर्माण गरेको घर फेरी पहिरोको पुर्ण जोखिममा परेपछि पीडितहरु अब कहाँ र कसरी घर बनाउने भन्नेमा अन्यौलग्रस्त छन् ।
एक दर्जन बढी परिवारको घर पहिरोले क्षतिग्रस्त बनाएको छ । पहिरोले झण्डै तीन दर्जन घरपरिवार उच्च जोखिममा परेपछि बिस्थापित छन् । उनीहरु राज्यले केही न केही गर्ला भन्ने अपेक्षामा छन् । तर वस्ती स्थानान्तरण र पुर्नस्थापनाबारे ठोस निर्णय र कार्यान्वयन नहुन्जेलसम्म उनीहरु अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । अस्थायी टहरा बनाउन पनि कतैबाट राम्रो सहयोग नजुट्दा उनीहरुलाई थप चिन्ता छ ।
उनीहरुको यो पिडामा केही गैरसरकारी संघ संस्थाले मल्हमपट्टी लगाउने प्रयास गरेका छन् । पहिरोबाट अतिप्रभावित २० घरपरिवारलाई मंगलबार फेज नेपाल नामक संस्थाले ५० बण्डल जस्तापाता उपलव्ध गराएको छ ।
राज्यस्तरबाट राहात र पुर्नस्थापनाका लागि पहल नगरेको गुनासो गरिरहेका पीडितहरुले जस्तापाता प्राप्त गर्दा खुसी व्यक्त गरे । ‘चाडबाडले छोपिसक्यो अहिलेलाई बस्ने राम्रो टहरा समेत बनाउन सकिएको छैन, जस्तापाता पाईयो, अब अझै बनाउन लाग्नुपर्छ होला पीडित बीर बहादुर थामीले भने ।’
फेज नेपालका कार्यक्रम व्यवस्थापक रुद्र न्यौपानेले पीडित परिवारको पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यले ५ लाख बरावरको जस्तापाता उपलव्ध गराईएको जानकारी दिए । ‘पहिरोबाट ठुलो क्षति पुगेको जानकारी पाएपछि ५ लाख रुपैयाँ बरावरको सहयोग जुटाएर जस्तापाता उपलव्ध गराईएको हो, उनले भने, यसबाट पहिरो पीडित परिवारलाई केही सहयोग पुग्छ भन्ने लागेको छ ।’
गाउँपालिका अध्यक्ष विन कुमार थामी, संस्थाका रुद्र न्यौपाने, समाजसेवी लक्ष्मी केसी लगायतको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगी मंगलवार उक्त जस्तापाता पीडितहरुलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सुवास थामीले पहिरो पीडितहरुको पिडामा मल्हमपट्टी लगाउने सहयोगी संस्था र त्यसका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै थप सहयोगको आवश्यकता रहेको बताए । समाजसेवी लक्ष्मी केसीको पहल र गाउँपालिकाको संयोजनमा उक्त जस्तापाता पीडीतहरुसम्म पुगेको हो ।
लगातारको वर्षासँगै आएको पहिरोले त्यस क्षेत्रका एक दर्जन बढी घर क्षतिग्रस्त बनाएको छ भने करिब तीन दर्जन परिवार विस्थापित छन् । सयौ रोपनी खेतीयोग्य जमित बगरमा परिणत भएको छ ।