Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेलुङ गाउँपालिकाका कर्मचारीको वयान : ‘कार्यालयमा तोडफोडको प्रयास र हामीमाथि पनि दुर्व्यवहार भयो’

चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाकाको कार्यालयमा तोडफोडको प्रयास हुनुका साथै कर्मचारीमाथि समेत दुर्व्यवहार भएको पाईएको छ । यही भदौ ११ गते गाउँपालिकाको कार्यालय प्रवेश गरेको समुहले अध्यक्ष नरबहादुर श्रेष्ठसँगै कर्मचारीलाई दुर्व्यवहार र कार्यालयमा तोडफोडको प्रयास गरेको थियो । 

गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले हाम्रो बिरामी नहेर्ने भन्दै अध्यक्षसँगै आफुहरुमाथि पनि हातपात र दुर्व्यवहार गरिएको बताएका छन् । उनीहरुका अनुसार उक्त समुहले अध्यक्ष र कर्मचारीलाई बाहिर निकालेपछि कार्यालयमा रहेको फर्निचर, नेमप्लेट, ग्लव्स लगायतका सामानहरु तोडफोड गर्नुका साथै बाहिर फाल्ने काम गरेका थिए । 

गाउँपालिका कृषि शाखा प्रमुख विष्णु जिरेलले अध्यक्षले बिरामी हेर्ने र सडक खुलाउने भन्दा भन्दै घट्ना घटाइएको बताए । ‘अध्यक्षसगै हामी चालु आर्थिक वर्षको योजना कार्यक्रम र बजेटका विषयमा छलफल गर्दै थियौँ, एक्कासी अपरिचित समुह प्रवेश गरी सबैलाई हातपात गर्दै बाहिर निकालियो उनले भने, कार्यालयका सामानहरु फुटाउने र बाहिर फाल्ने काम समेत भयो ।’

लोडर चालक भीम बहादुर पाण्डेले अध्यक्ष श्रेष्ठको फोन आएपछि केही स्थानको पहिरो पन्छाएर बिरामी बोक्न आएको भनिएको गाडी छिराईएको थियो । तर बुद्धचोक नजिकै लप्सीकोबोट भन्ने ठाउँमा उकालोमा रातो माटोको चिप्लोमा गाडी फसेको र तानेर निकाल्दिने भन्दा गाडी बिग्रिन्छ भन्दै अस्वीकार गरिएको उनको भनाई छ । त्यही विषयलाई लिएर आफुमाथि प्रहरीकै अगाडी हातपात र लाठी प्रहार भएको उनले बताए ।

प्रहरीमा जाहेरी दर्ता 
आफुमाथि हातपात र दुर्व्यबहार भएपछि मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । आफूमाथि नियोजित ढङ्गले आक्रमण गरेको भन्दै श्रेष्ठले स्थानीय मान बहादुर थोकर तामाङ बिरुद्ध जाहेरी दिएका हुन् ।

जाहेरीमा उनले आफूलाई अपशव्द प्रयोग गर्दै डर त्रासमा पारी सार्वजनिक स्थलमा कठालो समाई अभद्र व्यवहार गरिएकोले दोषीमाथि कानुन बमोजिम कारबाहीको माग गरेका छन् । यसैगरी आफुहरुमाथि अभद्र व्यवहार गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरु विष्णु जिरेल र भिम बहादुर पाण्डेले पनि प्रशान्त थोकर तामाङ विरुद्ध प्रहरीकोमा किटानी जाहेरी दिएका छन् । 

सडकको दुरवस्थाका कारण बिरामीको उद्धार गर्न नसकेको र गाउँपालिका अध्यक्षले लापरबाही गरेको आरोप लगाउँदै एक समुहले यही भदौ ११ गते उक्त घट्ना घटाएको थियो । 

-हेर्नुस् भिडियो..

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update