Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना प्रत्येक नागरिकको निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक सार्वजानिक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोवास गर्ने सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र बजेटमा सबै नागरिकको निशुल्क विमा गर्ने घोषणा गरेको थियो । जसअनुसार यही भदौं १८ देखि २४ गतेसम्म पहिलो चरणमा आवेदन पेश गर्न नागरिकलाई आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । नागरिकले विमाका लागि आवश्यक कागजात लिएर सम्बन्धित वडामा निवेदन पेश गर्न सक्नेछन् । जिल्ला बाहिर रहेका नागरिकले अनलाईनमार्फत आवेदन पेश गर्नसक्ने व्यवस्था गरिएको छ ।  

निशुल्क स्वास्थ्य विमाका लागि तोकिएको ढाचामा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्थायी ठेगाना खुल्ने कागजात, वालवालिकाको हकमा जन्मदर्ता, विवाह दतर्नाको प्रमाणपत्र, बसाई सरी आएको भए सोको प्रमाणपत्र आवश्यक पर्दछ ।  

उक्त कार्यक्रम अन्तर्गत ५ जनासम्म सदस्य भएका परिवारको विमा वापत लाग्ने ३ हजार ५ सय शुल्क गाउँपालिकाले विमा संस्थानलाई भुक्तानी दिनेछ । ५ जना भन्दा बढी सदस्य भएको परिवारको हकमा प्रतिव्यक्ति ७ सयका दरले लाग्ने थप शुल्क पनि गाउँपालिकाले व्यहोर्ने जनाएको छ ।  

२०६८ को जनगणना अनुसार कालिञ्चोक गाउँपालिकामा ६ हजार घरपरिवार रहेकोमा हाल बढेर ९ हजारको हाराहारीमा पुगेको अनुमान छ । उनीहरुको स्वास्थ्य विमाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ३ करोड बजेट विनियोजन गरिसकेको छ । नेपाल सरकार वा व्यक्ति स्वयंले यसअघि विमा गरिसकेको भए उनीहरुलाई यस कार्यक्रममा समावेश नगराईले बताईएको छ । 
विमा कार्यक्रममा सहभागि परिवारले उपचारका लागि १ लाख रुपैयाँ सम्म भुक्तानी दावी गर्नसक्ने भएकाले कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाको विस्वास छ । 

गाउँपालिका अध्यक्ष विन कुमार थामीले सबै निशुल्क विमा कार्यक्रमले गाउँपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताए । ‘गरिबी र उपचार अभावमा धेरै नागरिकले समस्या भोग्नुपरेको छ, यो कार्यक्रमले गुणस्तरिय स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ्नेछ, सबैलाई सहभागि हुन अनुरोध गर्छु, उनले भने ।’
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update