Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्रोत नखुलेको ३० लाख नगदसहित रामेछाप र काभ्रेका दुई जना पक्राउ

काठमाडौं - स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले रामेछाप र काभ्रेका दुई जनालार्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सना रहेका छन् ।

उनीहरुलाई काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गर्छन् भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा सोही पसलमा काम गर्ने कर्मचारी रमेशले झोलामा राखेको ३० लाख ७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाईएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update