Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका ७४ वडाको अधिवेशन भदौ १८ गते गर्ने कांग्रेसको निर्णय

चरिकोट - नेपाली काँग्रेस दोलखाले पार्टीको वडा स्तरिय अधिवेशन भाद्र १८ गते नै सम्पन्न गर्ने निर्णय गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले जिल्लाका सबै ७४ वटा वडा अधिवेशन एकैदिन सम्पन्न गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति रुद्रबहादुर खड्काले केन्द्रीय कार्यसमितिले निर्धारण गरेको कार्यतालिका अनुसार नै वडा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले वडा अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको जिम्मेवारी नेपाल शिक्षक संघलाई दिने निर्णय पनि गरेको छ ।

वडा अधिवेशनबाट वडाका पदाधिकारीसहित क्षेत्रिय प्रतिनिधिहरु चयन हुने कांग्रेसको विधानमा व्यवस्था छ । मेलुंग गाउँपालिकाको पवटी, विगु गाउँपालिकाको खोपाचागु र तामाकोसी गाउँपालिका स्थित झुलेमा सक्रिय सदस्यता अझै टुंगो लागिसकेको छैन ।

ती वडाको समेत नामावली समावेश गरी अधिवेशन गराउने र त्रुटी भएका हकमा वडा मतादान अधिकृतले सच्याएर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको सपभाति खड्काले बताए । ७४ वडा अधिवेशनबाट १५ सय ३ जना क्षेत्रिय प्रतिनिधि चयन भएर आउने कांग्रेसले जनाएको छ ।

कांग्रेसको विधानमा प्रत्येक वडामा ४५ जनासम्म सक्रिय सदस्य हुने प्रावधान छ । ४५ देखि २ सय ५० सम्म सक्रिय सदस्य रहेका भएको वडामा ३ महिला सहित ९ जना खुल्ला तर्फबाट र ६ जना समानुपातिक आधारमा क्षेत्रीय प्रतिनिधि चुनिने व्यवस्था छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update