Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नगरपालिकालाई सहकारी संस्थाहरुको ५ लाख ४४ हजार सहयोग

चरिकोट - कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि भिमेश्वर नगरपालिकाले सुरु गरेको कार्यक्रममा सहकारी संस्थाहरुले झण्डै साँढे ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । भिमेश्वर नगरपालिकाका बिभिन्न २० वटा सहकारी संस्थाहरुले नगरपालिकालाई ५ लाख ४४ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

नगरपालिकाका मेयर भरत केसिले सामाजिक संजाल मार्फत नगरपालिकाको १ घर १ सावुन र एक ब्यक्ति १ मास्क अभियानलाई सहकारी संस्थाहरुले सहयोग गरेको जानकारी दिएका छन् । नगरपालिकाको कार्यालयमा बिहिवार बसेको ती सहकारी संस्थाका संचालक तथा व्यवस्थापक सहितका कर्मचारीहरुको बैठकले नगरपालिकालाई सहयोग गर्ने निर्णय गरेको हो ।

सहकारी संचालकहरुले ६३ औं सहकारी दिवसका सन्दर्भमा कोरोना भाईरस बिरुद्धको अभियानका लागि उक्त सहयोग गररेको जनाएका छन् । आर्थिक सहयोग गर्ने संस्थाहरुमा मिलिजुली कालिञ्चोक, हाम्रो जनकल्याण, जनहित, जनसचेतन, अर्थभुमि, शिक्षक कल्याण, जनमुखी, स्वर्ण, पौरखि कृषि सहकारी, चित्रेश्वर, परोपकार महिला, सूर्योद्धय, गौरीशंकर, त्रिपुरा महिला, प्रगति, भीमेश्वर, जुनतारा कृषि, सारथी, जिलु साना किसान सहकारी छन् ।

भिमेश्वर नगरपालिकालाई कार्यक्षेत्र बनाएका बिभिन्न विषयगत सहकारी संस्थाहरुले नगरपालिकालाई आर्थिक सहयोग गरेका हुन् । जसमा मिलिजुली सहकारी संस्थाले सबैभन्दा बढि १ लाख ४३ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

आर्थिक सहयोगको आलोचना
सहकारी संस्थाहरुले नगरपालिकालाई आर्थिक सहयोग गर्ने निर्णयसँगै सामाजिक संजालमा विरोध र आलोचना पनि सुरु भएको छ । जिल्ला दैवी प्रकोष उद्धार कोषमा रहेको रकम खर्च गर्ने योजना बन्न नसकेको बेला सहकारीहरुले सहयोग गर्नु उचित नभएको भन्दै आलोचना भएको हो । पत्रकार महासंघ दोलखा शाखाका पुर्वअध्यक्ष राजेन्द्र मानन्धरले कोरोना भाईरस बिरुद्ध लड्न जिल्ला दैवी प्रकोपा उद्धार कोषको रकम खर्च गर्ने योजना नबनाई सहकारीहरुले सहकारीहरुले सरकारी संस्थालाई सहयोग गर्नुको अर्थ नभएको बताए ।

जिल्ला विपत व्यवस्थापन समितिले कोरोना रोकथाम र नियन्त्रणका लागि संयुक्त कोष स्थापना गर्ने निर्णय गरिसकेको छ । समितिले जिल्ला दैवि प्रकोप उद्धार कोषमा रहेको दुई करोड रुपैयाँ रकम खर्च अनुमतिका लागि गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update