काठमाण्डौं - सभामुख अग्नि सापकोटाले नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीबाट जोगाउने निर्णय लिएका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएको भन्दै सभामुख सापकोटाले एमालेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भैसकेको छ । ‘अब कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा अगाडि बढ्ने अवस्था नरहेको भनेर सभामुखले निर्णय गर्नु भएको छ’, उनले भने ।
नेकपा एमालेले तत्कालित प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । प्रतिनिधि सभा नियमावलीमा सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने व्यवस्था छ ।
तर सभामुख सापकोटाले १३ औँ दिनपछि नयाँ दल दर्ता भएको स्थितिमा कारबाहीको सूचना टाँस नगर्ने निर्णय लिएका हुन् ।