Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिका आर्थिक सुशासनमा उत्कृष्ट, १ प्रतिशतमा झर्यो बेरुजु

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका बेरुजु फर्छ्यौटमा अब्बल देखिएको छ । जिल्लाको ९ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको हो । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनले दोलखा जिल्लामा ३७ करोडभन्दा बढी रकम बेरुजु औल्याएकोमा कालिञ्चोक गाउँपालिकाको सबैभन्दा कम छ ।

कालिञ्चोक गाउँपालिकामा ९८ करोड ४२ लाख ९४ हजारको लेखापरीक्षण गर्दा एक करोड ३० लाख १७ हजार मात्रै बेरुजु आएको छ । जुन कूल खर्चको १.३२ प्रतिशत मात्रै हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले अहिले देखिएकोपनि सैद्धान्तिक बेरुजु मात्रै रहेको बताए । ‘मलेपले अहिले देखिएको बेरुजु पनि सैद्धान्तिक बेरुजु हो, खास बेरुजु उपभोक्ता समितिको ३/४ लाख मात्रै छ, उनले भने, यो वर्ष बेरुजु दर शुन्यमा झार्ने गाउँपालिकाको लक्ष्य छ ।’

कार्यविधिभन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्ने, खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले बेरुजु बढ्ने गर्दछ । प्रमुख प्रशासकीय अधिकृत ओलीले लेखापरीक्षणका पाँच सिद्धान्तलाई कडाईपुर्वक कार्यान्वयन गरेर मात्रै भुक्तानी दिने गरिएकाले बेरुजु स्वतः कम भएको बताए ।  

दोलखामा ३७ करोड भन्दा बढी बेरुजु देखिएकोमा सबैभन्दा बढी बेरुजु बैतेश्वर गाउँपालिकामा निस्किएको छ । मलेपको प्रतिवेदनले बैतेश्वरमा १२ करोडसम्मको बेरुजु औल्याएको हो । बैतेश्वर गाउँपालिकामा ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार बेरुजु निस्किएको छ । जुन कूल खर्चको १४.०९ प्रतिशत खर्च हो । 

जिल्लाको नौ स्थानीय तहमा यो वर्ष महालेखाले कूल आठ अर्ब ५७ करोड ७४ लाख ५३ हजारको लेखापरीक्षण गरेको थियो । जसमा ३७ करोड ६६ लाख ९५ हजार बेरुजु आएको छ । कालिञ्चोकपछि कम बेरुजु हुने स्थानीय तहमा तामाकोसी गाउँपालिका छ । तामाकोशी गाउँपालिकाको एक अर्ब सात करोड ९५ लाख ६० हजारको लेखापरीक्षण गरिएकामा एक करोड ८६ लाख ९५ हजार बेरुजु देखिन्छ । 

यसैगरी जिरी नगरपालिकाको रु ८७ करोड ७२ लाख २० हजारको लेखापरीक्षण गर्दा दुई करोड ९२ लाख ३१ हजार बेरुजु देखिएको छ भने भीमेश्वर नगरपालिकाको एक अर्ब ६७ करोड ७४ लाख २० हजारको लेखापरीक्षण हुँदा तीन करोड ४६ लाख ७८ हजार बेरुजु आएको छ । 

यस्तै मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखापरीक्षण भएकोमा चार करोड ३७ लाख ९८, गौरीशङ्कर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखापरीक्षण गर्दा चार करोड १० लाख ४१ हजार, शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखापरीक्षण गर्दा चार करोड ४६ लाख ३५ हजार र विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखापरीक्षण गर्दा दुई करोड ६७ लाख ५८ हजार बेरुजु महालेखा प्रतिबेदनले औल्याएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update