चौंसट्ठी वर्ग मिटर
-जीवन लामा
विहानै कलिलो
घामका पाईलाले टेकेर
हरियो पछ्यौरी ओढेको गाउँ
कुनै महात्माको पीताम्वर जस्तै
चिटिक्क परेको छ ।
अपरिचित आवाजसहित गुडिरहेका छन्
मोटरगाडीहरु तल माथि ! माथि तल
छेउैमा ठडिएका छन् सानातिना
भूकम्प प्रतिरोधी घरहरु
पहिचानका लागि नामकरण गरिएको छ
सुरीको सुरेल बस्ती
बिहानै भालेले कुखुरी काँ नभन्दै
सुरु हुन्छ मोटरसाईकलको जुलुस
साँझसम्मै दौडिरहन्छन्
बोलेरोका धुनहरु
कोही सुरेल भन्दै आउँछन्
सुरेल नछोएरै जान्छन्
कोही सुरेल भन्दै जान्छन्
धेरैभन्दा धेरै सुनिएका सुरेलहरु
बलेँसीमा बसेर चिम्रा परेका आँखाहरु
हराईसकेका आवाज पछ्याउँछन्
मरिसकेका भाषा खोज्छन्
ओझेल परेका दृश्यहरु नियाल्छन्
सुरीका सुरेलहरु ।
कुनै समय राणाकाल थियो
सुरीको सुरेलले सुन्यो
पञ्चायतकाल थियो
सुरीको सुरेलले देख्यो
लोकतन्त्रकाल आयो
सुरीको सुरेलले भोग्यो ।
उ पनि लड्यो अरु जातसँगै
अरु वर्गसँगै, अरु थरसँगै
गणतन्त्र आयो
उसका नाममा पनि लेखियो नयाँ संविधान
धेरै नयाँ अनुहानरहरु देख्यो उसले
पटक पटक चुनावका पर्वहरुमा
चुल्हो चिसो भएपनि, पेट रित्तो भए पनि
बिहान, दिउँसो र बेलुकी मनग्य खायो नमस्कार ।
उसले धेरै शासन सत्ता फेर्यो
नेता फेर्यो
चुनाव चिन्ह फेर्यो
तर उसको
पूरै जीवनभरिको
चौसठ्ठी वर्ग मिटर
कहिल्यै फेरिएन ।
न तानेर तन्काउन मिल्ने
न जोडेर बढाउन मिल्ने
बरु उमेर बढ्छ
खाने मुखुहरु बढ्छन्
तर, बढ्दैन कहिल्यै चौसठ्ठी वर्गमिटर ।
तिनै चौसठ्ठी वर्गमिटरमा
हजुरबा, हजुरआमा,
बा, आमा
छोराछोरी, नाति, नातिना
धेरै रमाए बेमतलब
धेरै नाचे बिनाताल
धेरै हुर्के अन्धाधुन्ध
धेरै बढे, धेरैलाई बढाए
तर, कहिल्यै बढ्दै बढेन चौसठ्ठी वर्गमिटर
जमिनको टालो ।
जिन्दगीभर गाडी नदेख्नेले
कहिलेकाहीँ पजेरो चढे
झुपडीमा सुत्ने माथ्ला घरकाले
पेटमा पटुका कसेर महल ठडाए
अनुसन्धानका पुस्तक मेरै हस्ताक्षरले
महान् बनाए
मेरै चाउरी परेका र नमिलेका कपाले फोटाले
उनीहरुलाई महाजन बनाए
मेरो पसिनाको रङ कस्तो छ होला
मेरो रगतको रङ कस्तो छ होला
अन्तर्वावार्तामा कसैले सोध्दैनन् ।
र नि म आजसम्म त्यही
चौसट्ठी वर्गमिटर जमिनको टालोमा
सरकारले दिएको आदेश मुताविकको दुईकोठे
दरबारबाट
तपाईको सानो सात तले घर हेरेर रमाईरहेछु ।
रमाउनु त हाम्रो धर्म हो, रमाईरहेछु ।
वर्षौँपछि आज मनको कुनामा तपाईहरु सम्झिरहेछु
र सोध्न मन लागिरहेछ
ती महलहरुमा ती बैंकहरुमा हाम्रो नामको अंश
कति छ होला !
यो सुरीको कुनाम त
न तान्दा बढ्छ, न हान्दा बढ्छ
चौंसट्ठी वर्गमिटर जमिनको टालोमा ।
हो, म आज रमाउँदै छु ।