चरिकोट – कोरोना जोखिम कायमै छ । जसका कारण सरकारी तथा नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा पठनपाठन सुरु हुन सकेको छैन । कोरोना जोखिमका कारण लामो समयसम्म विद्यालय संचालनमा नआउँदा विद्यार्थीहरु आफ्नो भविष्यबारे चिन्तित छन् । वालवालिकाको पढाई बिग्रिदा अविभावकहरुलाई कम्ता पिरलो छैन ।
महामारीका बीच कतिपय विद्यालयहरुले जसोतसो अनलाईन कक्षा संचालन गर्ने प्रयास गरिरहेका छन् । ईन्टरनेटको समस्याका कारण अनलाईन कक्षापनि प्रभावकारी हुन सकिरहेको छैन । गाउँमा ईन्टरनेटको पहुँच नहुँदा अनलाईन कक्षाबाटै भएपनि पढाईलाई निरन्तरता दिन चाहने विद्यार्थीहरु वेचैन छन् ।
खानेमुखलाई जुंगाले के छेक्थ्यो र भनेझै घरमा ईन्टरनेट नभएपनि कतिपय विद्यार्थीहरु डाँडामा टहरा बनाई अनलाईन कक्षा लिईरहेका छन् । दोलखा भीमेश्वर नगरपालिका ७ सेराबेसीमा फोरजी टिप्ने डाँडामा अस्थायी टहरा बनाई विद्यार्थीहरुले अनलाईन कक्षा लिने गरेको दृष्य देख्न थालिएको स्थानीय वावुकृष्ण कायस्थले बताए ।
घरमा फोरजी नचलेपछि विद्यार्थीहरु नेट चल्ने ठाउँमा टहरो बनाई अनलाईन क्लास लिँदै भनेर उनले उक्त दृष्यको फोटो कैद गरी सामाजिक संजालमा पोष्ट गरेका छन् ।