Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अफगानिस्तानमा फसेका दोलखाका सुमन भन्छन् : ‘बाँचेर स्वदेश फर्किन मुस्किल छ’

काठमाडौँ  - सरकारले उद्धारमा तदारुकता नदेखाउँदा अफगानिस्तानबाट स्वदेश फर्किन चाहने नेपालीहरु अझै अलपत्र बनेका छन् । सुरक्षा चुनौती थपिएसँगै त्यहाँ रहेका धेरै थुप्रै नेपाली स्वदेश फर्कन खोजिरहेका छन् । तर उनीहरू काबुल विमानस्थलमै अलपत्र छन् ।

यसअघि अमेरिका–बेलायतलगायत देशका कूटनीतिक नियोगमा कार्यरत केही नेपाली दोहा, कुवेत हुँदै नेपाल फर्किएका थिए । तर  अझै थुप्रै व्यक्ति उद्धारको पर्खाईमा छन् । उनीहरुले सकसका साथ विमानस्थलमा आईपुगेपनि त्यहाँबाट निस्किन नसकेको बताएका छन् ।

राजधानी काबुलस्थित जर्मन दूतावासमा कार्यरत दोलखाका सुमन मोक्तान ठुलो प्रयासपछि विमानस्थल प्रवेश गर्न सफल भए । झन्डै ७२ घण्टाको संघर्षपछि आफु विमानस्थल पस्न सफल भएपनि स्वदेश फर्किन मुस्किल परेको उनले बताए । 

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा काबुल छोड्न चाहनेको ठुलो भिड हुँदा नेटो सेनाले गेट नखोल्दिने र बाहिर तालिवानहरू रहेका कारण समस्या भएको उनले सुनाए । उनका अनुसार हुलदंगा मच्चिँदा छिनछिनमा गोली गल्ने गर्दछ । 

उनीहरु बुधबार बिहानै तालिवानको एस्कर्टिङमा विमानस्थल छिर्ने प्रयास गरेका थिए । तर विमानस्थल छिर्न नदिईएपछि उनीहरु विमानस्थलको छेउकै होटल परिसरमा बस्न बाध्य भए । उक्त होटेललाई ब्रिटिस सेनाले सुरक्षा दिईरहेको बताईएको छ । बिहीबार मात्रै हुलदंगामा परेर तीन जनाको मृत्यु भएको आफुले देखेको सुमनले बताए । होटलमा खानेकुरा केही नहुँदा भोकभोकै बस्नुपरेको उनले गुनासो गरे । 

ब्रिटिस सेनाले समन्वय गरेर उनीहरुलाई अहिले विमानस्थलभित्र राखेको छ । खाना दिएर विशेष स्थानमा राखिएकाले अब केही बाँच्ने आशा पलाएको सुमनले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update