Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोशी आयोजना : भूकम्प र नाकाबन्दीपछि कोरोना भाईरसको प्रहार

दोलखा - एक प्रतिशतभन्दापनि कम मात्रै काम बाँकी रहेको भनिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम कोरोना भाइरस प्रकोपका कारण प्रभावित बनेको अधिकारीहरूले बताएका छन् । यसअघि विभिन्न कारण पटकपटक आयोजनाको काम रोकिँदा निर्माण अवधि र लागत बढेर झण्डै दोबर भएको थियो ।

भाइरसको प्रभाव


कोरोनाभाइरस सङ्क्रमणका कारण देशमा लक डाउन  भएसँगै माथिल्लो तामाकोशी आयोजनाको काममा पनि असर पुगेको हो । ९९ दशमलव ४ प्रतिशत काम सम्पन्न भइ आउँदो असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको भनिएको आयोजना निर्माणको अन्तिम चरणमा आएर कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्राय: बाँकी काम रोक्नुपरेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, अति महत्त्वपूर्ण काम बाहेक ठेकेदारले अन्य सबै बाँकी काम रोकेको अवस्था छ ।

के के काम रोकिए ?

अहिले आयोजनाको बाँधस्थलको पानी घटाउने, सुरुङभित्र पानी पठाउने लगायत सबै काम रोकिएको न्यौपानेले बताए । खासगरि दुवै पेनस्टक पाइपको जडान, त्यसमा कंक्रिट भर्नु पर्ने केही काम, बाईफर्केशन भनिने पाइपहरूको जडान र सुरूका केही खण्डमा केमिकल  ग्राउटिङको काम बाँकी रहेको बताइएको छ । यसअघि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी अनि लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण आयोजनाको काम पटकपटक प्रभावित हुँदा निर्माण अवधि र लागत बढेर दोबर पुग्ने बताइएको थियो ।

अब फेरि कोरोनाभाइरसको जोखिमले काम रोकिँदा असर पुग्ने देखिएको भन्दै न्यौपानेले भने, सरसामानको ढुवानीमा समस्या अनि तेलको अभावजस्ता कारणले असर परिरहेको छ । लकडाउन कति लामो रहन्छ त्यसैमा यहाँको निर्माणकार्य भर पर्नेछ ।

३५ अर्ब २९ करोड लागतमा निर्माण सक्ने भनिएको ४५६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि हालसम्म करिब ४९ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update