काठमाण्डौं - दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गर्न सफल भएको छ । सत्ता कब्जा गर्दै तालिवान पुनः सत्तामा पुगेको हो । अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान छाडेको ४५ दिनपछि तालिवान राजधानी कावुल प्रबेश गरेको हो । तालिवानले पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पारेको थियो । बीबीसीका अनुसार तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको छ ।
त्यसअघि राष्ट्रपति असरफ घानीले देश छाडेका थिए भने गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने जनाएका थिए । राजधानी कावुल प्रवेश गर्नुअघि तालिवान विद्रोहीले देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरिसकेको थियो ।
गृहमन्त्री अब्दुल सत्तार मिर्जक्वालले तालिवानलाई सत्ता हस्तान्तरणको तयारी भइरहेका बेला राष्ट्रपतिले देश छाडेको जनाए । तालिवान लडाकु काबुलतर्फ अघि बढेपछि घानीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘मुलुक गम्भीर खतरामा’ परेको बताएका थिए । अमेरिकाको सहयोगमा घानी सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति बनेका थिए ।
तालिवानले सत्ता हस्तान्तरण, संक्रमणकालीन सरकारको नेतृत्वलगायत विषयमा सरकारसँग वार्ता भइरहेकाले आफ्ना लडाकुलाई काबुलमा आक्रमण नगर्न निर्देशन दिएको छ । मिर्जक्वालका अनुसार तालिवान विद्रोहीहरूले राजधानी काबुललाई चारैतर्फबाट घेरिरहेका छन् । कतिपय लडाकु काबुल पसिसकेका छन् ।
काबुल छिर्ने क्रममा तालिवानलाई सरकारी फौजले कुनै प्रतिरोध गरेनन् । तालिवानका अर्का प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना कतिपय लडाकु राजधानी काबुल पस्ने मुख्य नाकाहरूमा रोकिएको जनाएका छन् ।