Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेससँग चुनावी तालमेल गर्नेबारे माओवादी केन्द्रको बैठकमा उठ्यो प्रश्न

काठमाण्डौं - नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठकमा तालमेल गर्ने या नगर्नेबारे गम्भिर प्रश्न उठेको छ । बैठकमा नेताहरुले दलाल पूँजीपतिहरुको पार्टीका रुपमा परिचित नेपाली कांग्रेससँग तालमेल गर्दा नैतिक संकट उत्पन्न हुने बताए । माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्यान्डमा जारी छ ।

बैठकमा बनाइएका आठवटा समूहको तर्फबाट सुझाव दिने नेताहरुले कांग्रेससँगको सहकार्यले माओवादी आन्दोलनको लक्ष्यसम्म पुग्न नसकिने बताएका हुन् । समूह नम्बर ८ को तर्फबाट सुझाव दिँदै केन्द्रीय सदस्य युवराज चौलागाईंले कांग्रेससँग सहकार्य गरेर माओवादीले समाजवादको यात्रा पुरा गर्न नसक्ने बताए । 

नेपालमा लामो समयदेखि दलाल पूँजीपति वर्गको नेतृत्व गरेर बसेको नेपाली कांग्रेससँग हाम्रो सहकार्य भइरहेको छु, सुझाव दिँदै चौलागाईंले भने, दलाल पूँजीपतिको प्रतिनिधिसँग सहकार्य गरेर माओवादीले कसरी समाजवादको सपना देख्न सक्छ? अझै आगामी निर्वाचनमा ऊसैसँग तालमेल गरेर जाने कुरा अनैतिक हुन्छ।

शनिबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधान शत्रु भनेका थिए । यो अवस्थामा उनले कांग्रेस सभापति शेरबहादुर देउवामा तुलनात्मक रुपमा राजनीतिक चरित्र देखिएको बताएका थिए।

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजानुपर्ने मत राखेका थिए। अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमलेको माधव नेपाल समूह र जनमोर्चा नेपाल छन्। 

बैठकमा प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, सम्पर्क प्रदेशरबिशेष प्रदेशर प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौलागाईंले सुझाव पेश गरेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update