काठमाडौं - काठमाण्डौंको म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका - ५, घर भई हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने, ३४ बर्षिय धर्म ओखेडा, दोलखा बैतेश्वर गाउँपालिका-२ घर भई हाल ठमेल बस्ने ३२ वर्षिय म्यानपावर व्यवस्थापक मनोज कुमार श्रेष्ठ, रामेछाप दोरोम्वा गाउँपालिका ४ घर भई हाल नयाँबजार बस्ने २७ वर्षिय दिपक थापामगर, काभ्रे पाँचखाल नगरपालिका १२ का बिशाल लामा, काभ्रे तिमालका योङदेन लामा, रामेछाप दोरोम्वाका रोशन श्रेष्ठ, र भारत कास्मिर आबुपाकरका मोहम्मद ईसाक रहेका छन् ।
अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले लुटेराको समूहलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी कृष्ण कोइरालाले जानकारी दिए । खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।
जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बासहित १ लाख ५३ हजार नगद र ८ थान मोवाईल बरामद भएको प्रहरीले जनाएको छ ।