काठमाडौँ - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषदलाई पुर्णता दिन सकस देखिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दापनि मन्त्रिपरिषद बिस्तारमै समस्या देखिएको हो । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वकै कारण मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको नेताहरुले बताएका छन् ।
कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, सरकारको प्रभावकारितालगायत विषयमा छलफल गर्न बसेको पार्टी केन्द्रीय समितिको बैठकपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।
अहिले मन्त्रिपरिषद् विस्तार गर्दा बैठकमा तनाव हुने र अनुकूल निर्णय गर्न गाह्रो हुन सक्ने देउवाको आँकलन छ । उपप्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा समेत विवाद छ । कांग्रेस, माओवादी र जसपाका शीर्षमध्येका नेताहरूले उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागि हुने मनस्थिति बनाएका छन् । तर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री नै नराख्ने पक्षमा नरहेको बताईन्छ ।
मन्त्रालय भागवण्डा नमिलेका कारणपनि मन्त्रिपरिषद बिस्तारमा ढिलाई भैरहेको छ । गठबन्धनबीच कुन पार्टीले कति मन्त्रालय लिने भन्ने विषय पनि टुंगिन सकेको छैन । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाउनसक्ने व्यवस्था छ । प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री मात्रै बन्न सक्छन् । सत्ता गठबन्धनल दलमध्ये कांग्रेसले ९, माओवादीले ८ र जसपाले ७ मन्त्रालयमा दाबी गरेका छन् ।