Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थामी समुदाय कर्मचारीतन्त्रमा प्रवेश गर्न नसक्नुको कारण, सम्भावना र चुनौती

-रामकाजी थामी

१. भूमिका :
नेपाल थामी समाज, जिल्ला कार्य समिति, दोलखाले मिति २०७७ साल चैत्र ७ गते आयोजना गरेको संस्थागत सुदृढिकरण र भावी कार्य योजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मलाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर प्राप्त भएको थियो । सोही कार्यक्रममा समितिले पुस्तक प्रकाशन गर्न लागेको र सोही पुस्तकको लागि लेखहरु संकलन गर्ने जानकारी गराएको थियो । मैले छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको सान्दर्भिक बिषयहरु मध्ये थामी समूदायको सामूदायिक विकासको निमित्त नेपालको कर्मचारी तन्त्रमा थामी समूदायका युवा पिडिहरुलाई प्रबेश गर्न गराउन उत्प्रेरित गर्नु पर्छ जसबाट स्थायी सरकारमा थामीको पनि प्रतिनिधत्व रहनुका साथै अपनत्वको भावना जागृत हुन्छ भनेको थिएं । सोही विषयलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । यसबाट थामी युवा पिडिलाई केही भएपनि प्रेरणा मिलोस् भन्ने चाहना हो ।

२. तथ्यांक :
क) थामी समूदायको बर्तमान अवस्था : थामी समूदायको मूल थलो तथा बाहुल्यता भएको स्थान भनेको दोलखा जिल्ला नै हो । नेपालभर छरिएर रहेका र भारत लगाएत अमेरिका, अष्ट्रेलिया, जापान आदि विभिन्न देशहरुमा रहेका थामीहरुको पूर्खा दोलखाबाट नै गएका हुन् यसमा दुई मत हुनै सक्दैन ।

विशेष गरी थामी समूदायले विगत देखि प्रमुख रुपमा कृषि पेशालाई अंगाल्दै आएका थिए । कृषि उत्पादनले मात्रै धान्न नसक्ने भएपछि मजदुरीको कमाइबाट जीवन धान्ने गर्दथे । बर्तमान अवस्थामा पनि बहुसंख्यक थामीहरु त्यही पेशालाई नै निरन्तरता दिईरहेका छन् । तर विगतमा भन्दा केही फरक पेशाततर्फ आकर्षण बढ्दै गएको देखिन्छ । हाल आएर थामी समूदायको शैक्षिक स्तर बृद्धि भएको छ । अपवाद वाहेक कम से कम आधारभूत विद्यालय शिक्षा हासिल गरेकै हुन्छन्, माध्यमिक शिक्षा हासिल गर्ने विद्यार्थी संख्यामा पनि बृद्धि भइरहेको छ । तर उच्च शिक्षा हासिल गर्नेको संख्या भने अझै पनि न्यून नै रहेको छ । जसरी शैक्षिक स्तरको वर्तमान अवस्था देखिन्छ त्यसरी नै थामीका युवा पिडिहरु कर्मचारी तन्त्रमा प्रबेश गर्न बामे सर्दै गरेको अवस्थामा रहेको छ । 

हाल आएर थामी युवा युवतीहरुको सोचाई बैदेशिक रोजगारतर्फ केन्द्रीत भएको देखिन्छ । विद्यालयको शिक्षा हासिल गर्दा गर्दै उमेर पुगेपछि नागरिकता तथा पासपोर्ट बनाउने र बैदेशिक रोजगारीमा हुम्मिने प्रबृत्ति देखा परेको छ । यसबाट क्षणिक आर्थिक लाभ भएता पनि दीर्घकालिन रुपमा असर पर्ने देखिन्छ । बर्षायामको भेल झै एकपटक केही रकम जोहो गरेको देखिन्छ, केही समय पश्चात जस्ताको तस्तै अवस्था हुन्छ । किनभने हाम्रो थामी समूदायमा दुःख गरी कमाएको धनलाई उचित परिचालन गरेर दीगो व्यबस्थापन गर्ने सोचको कमी नै देखिन्छ ।

(ख) कर्मचारी तथा पेशागत क्षेत्रमा थामीको अवस्था :
कर्मचारी तन्त्रमा नियाल्दा नेपाल सरकारको कर्मचारीमा नेपाल प्रहरीतर्फ हालसम्म वहालवाला १२ जना र भूतपूर्व ११ जना गरी करिब २३ जनाजत्तिले सहभागी भएका छन् । सशस्त्र प्रहरीमा बहालवाला ४ जना, नेपाल आर्मीमा ३ जना वहालवाला र ४ जना भूतपूर्व गरी करिब ७ जना, निजामती सेवामा बहालवाला २ जना र भूतपूर्व १ जना समेत करिब ३ जना, निजी तथा सरकारी सेवामा कार्यरत शिक्षकहरुतर्फ पूर्ब शिक्षक ५ जना र वहालवाला २० जना गरी करिब २५ जना, स्वास्थ्ये सेवामा अनमि र नर्स गरी करिब ६ जनाले सहभागीता जनाएका होलान भन्ने अनुमान गर्न सकिन्छ । अन्य बहुसंख्यक थामीहरु मजदुरी गरेर नै जीवन यापन गरेका छन् । 

उच्च ओहोदामा त थामी समूदाय देखा पर्ने कुरै भएन । हालसम्म नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीसम्म पुगेर निबृत्त भएका पहिलो थामी प्रहरी निरीक्षक एकजना मात्र देखिन्छ । पेशागत हिसावले हेर्ने हो भने हालसम्म पत्रकारिता, उद्योग व्यबसाय क्षेत्रमा औंलामा गन्न सकिने केही थामी युवा युवतीहरु देखा पर्न थालेका छन् । हालसम्म पहिलो थामी युवा एकजना एम.बि.बि.एस.डाक्टर, पहिलो थामी अधिवक्ता एकजना र पहिलो थामी रजिष्टर्ड अडिटर एकजना रहेको तथ्यांक छ । राजनैतिक क्षेत्रमा हालसम्म एकजना सभासद भएका छन् भने अरु औंलामा गन्न सकिने थामीहरु राजनैतिक क्षेत्रमा देखा परेका छन् । यसर्थ थामी समूदायलाई चौतर्फी अगाडि बढाउन चेतनामूलक कार्यक्रमको आवश्यकता देखिन्छ । तथापी विगतको तुलनामा थामी समूदाय विकसित हुंदै गएको संकेत देखिनु सकारात्मक हो ।

३.    कर्मचारी तन्त्रमा थामी समूदाय प्रबेश गर्न नसक्नुको कारण :
कर्मचारी तन्त्रमा थामी समूदाय प्रबेश गर्न नसक्नुको कारण निम्न बमोजिम हुन सक्दछ :
(१)    आर्थिक अभाव
थामी समूदाय विशेष गरी परम्परागत कृषि पेशामा नै आधारित हुने भएकोले आफ्नो कृषि उत्पादनले बर्षभरी खान नपुग्ने हुंदा परिवारको जीवन यापनको लागि पनि मजदुरी गरेर जीवनको गारोसांगुरो टार्ने गर्दछन् । कुनै व्याबसायिक खेती नगर्नाले आर्थिक अभाव खड्कि नै रहन्छ । जव समूदायमा आर्थिक अभाव रहन्छ, त्यो समूदाय विकासमा पछि परिनै हाल्छ । आर्थिक अभावको कारण गरिबिले सताउने हुंदा शिक्षा हासिल गर्न नसक्नुले नै समूदाय विकासमा चौतर्फी असर परेको हुन्छ । 

(२)    शैक्षिक स्तर न्यून :
थामी समूदायको धेरैजसो सदस्यहरुको आर्थिक अभावका कारण शैक्षिक स्तर बृद्धि हुन सकेको छैन । बालबच्चालाई कापी किताव, युनिफर्म, विद्यालय शुल्क लगाएतका आधारभूत आवश्यकता त पूरा गर्नै पर्ने हुन्छ । आधारभूत स्तरका विद्यालय शिक्षा त मुस्किलले पढाउन सक्ने समूदायले माध्यमिक र उच्च शिक्षातर्फको शिक्षा हासिल गराउन सक्ने कुरै भएन । जब शैक्षिक योग्यताको स्तर नै कर्मचारी तन्त्रमा प्रबेशको लागि अपर्याप्त हुन्छ भने कर्मचारी सेवामा प्रबेश गर्न सक्ने कुरै भएन ।

(३)    संस्कार संस्कृतिको प्रभाव
थामी समूदायको परम्परागत संस्कार संस्कृति रीतिरिवाजहरुमा प्रायजसो मादक पदार्थ प्रयोग हुन्छ । जन्मदेखि मृत्युसम्मको संस्कारमा मादक पदार्थकै भूमिका रहन्छ । समूदायका बालकदेखि बृद्धासम्मले मादक पदार्थ सेवन गर्ने र विन्दास रहने संस्कार छ । पारिवारिक र सामाजिक अनुशासनको पालना गरी सभ्य बन्नुको सटृा अनुशासनहीन क्रियाकलाप गर्ने गरेको पाइन्छ । आफ्नो आर्थिक, शैक्षिक, राजनैतिक लगाएतका चौतर्फी उन्नती प्रगतिका लागि सोच्नु पर्ने दिमागलाई मादक पदार्थ सेवनले निष्कृय (लठ्ठ) बनाउंछ । थामी विद्यार्थीहरुले पनि आफ्नो संस्कार अनुसार मादक पदार्थ सेवन गर्नाले पढाइमा असर परेकै हुन्छ । जसले गर्दा आजको प्रतिस्पर्धात्क युगमा आपैm पछि पर्नु स्वाभाविक नै देखिन्छ ।

(४)    हिनताबोध 
समाजमा रहेका अन्य समूदायसंग थामी समूदायका युवा पिडिहरुले आफुलाई तुलना गर्छ र आफु आर्थिक, शैक्षिक, राजनैतिक, संस्कार आदि क्षेत्रमा कमजोर पाउंछ अनि उ आफैमा हिनता बोधको शिकार भई प्रगति गर्न नसक्ने हुन्छ । कर्मचारी तन्त्रमा प्रबेश गर्न प्रतिस्पर्धामा उत्रनु पर्ने बेलामा पहिल्यै हार खाएर पछि हट्ने गर्दछ । जसको फलस्वरुप कर्मचारी तन्त्रमा प्रबेश गर्न नसक्ने हुन्छ । 

(५ं)    प्रतिस्पर्धाको भावना नहुनु 
कर्मचारी तन्त्रमा प्रबेश गर्न शैक्षिक योग्यता पुगेका थामी समूदायका नयां पिडिहरुलाई मार्ग निर्देशन गर्ने संंगत पनि हुंदैन । लोक सेवाको तयारी कसरी गर्ने, कुन सेवामा प्रबेश गर्ने, सेवा शर्त र आफ्नो भविष्य कसरी निर्धारण गर्ने जस्ता महत्वपूर्ण विषयहरुको ज्ञानको अभावको कारण पनि कर्मचारीतन्त्रमा प्रतिस्पर्धाको भावना उत्प्ररित हुंदैन । समाजमा एक दुइजना नजिकको आफन्त नातेदार कर्मचारी तन्त्रमा जागिर खाएर देखाएको भए देखासेखीले पनि एउटा लहर चल्थ्यो र प्रतिपर्धा गर्ने भावनाको विकास हुन्थ्यो । चुनौतीको सामना गर्ने भावनाको कमी रहेको देखिन्छ । कर्मचारी तन्त्रमा गैर थामीले मात्र होइन थामीहरुले पनि प्रबेश गर्न सक्छ भन्ने दृढ इच्छा शक्तिको अभाव रहनुले थामीहरु कर्मचारी तन्त्रमा प्रबेश गर्न नसकेको देखिन्छ ।

(६) कम्फोर्ट जोनमा रहनु
थामी समूदायमा शारीरिक क्षमताको परिश्रम गर्न रुचाउने तर मानसिक परिश्रम गर्न नरुचाउने बानी हुन्छ । कठिन मानसिक परिश्रम गर्नु भन्दा सजिलोतर्फ उन्मुख भई जे सजिलो छ त्यसैमा रमाउने र सन्तुष्ट रहने  गुण विद्यमान छ । आफ्नो व्यक्तित्व विकासको लागि त मानसिक परिश्रम नै वढी गर्नु पर्ने हुन्छ र पो चौतर्फी विकास हुन्छ । कर्मचारी तन्त्रमा सहभागी हुनको लागि अध्ययन मनन जस्ता मानसिक परिश्रम कै खांचो हुन्छ जुन थामी समूदायमा पाईंदैन । 

(७) अध्ययनशील नहुनु
कर्मचारी तन्त्रमा प्रबेश गर्न निरन्तर अध्ययन मननको आवश्यकता पर्दछ । देश विदेशका सामान्य ज्ञान, हालको समसायिक बिषयको जानकारी, लोक सेवाको लागि तयारी गर्ने र आफुुलाई अहिले २१ औं सताब्दीको सक्षम कर्मचारी उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रन सक्ने गरी अध्ययनशील हुनु पर्दछ । यसरी आपूmलाई कर्मचारी तन्त्रमा प्रबेश गर्ने गरी अध्ययनशील नहुनु नै बाधा सिर्जना हुनु हो ।  

(८) सोझोपन
थामी समूदाय अत्ति नै सोझो स्वभावका हुन्छन् । चांडै अरुलाई विश्वास गर्ने, अरुको कुराबाट तुरुन्तै प्रभावित हुने, अरुले जता डोर्यायो उतै डोरिने, आफ्नो निर्णयमा भन्दा पनि अरुको निर्णयमा भर पर्ने, गोपनीयता नराख्ने, कुटनीति नजान्ने जस्ता आवश्यक भन्दा पनि इमान्दार र सोझोपनको स्वभावले गर्दा प्रतिस्पर्धीले उछिन्ने साथै आफु चाहिं पछि परेको परेई हुने स्थितिमा थामी समूदाय रहेको पाइन्छ ।

(९) बैदेशिक रोजगार प्रति आकर्षित
 विभिन्न कालखण्डमा थामी समूदायले खेती किसानी पेशा संगै सिकर्मी, डकर्मी, निगालाबाट डोको डालो, नाङलो आदि घरायसी सामान बुन्ने गर्दथे । पछिल्लो समयमा आएर थामी युवा युवतीहरुको सोच पढाई गर्ने र स्वदेशको कर्मचारी सेवामा प्रबेश गर्ने भन्दा बैदेशिक रोजगारतफ आकर्षित भएको पाइन्छ । नागरिकता बनाउने उमेर पुगेपछि नागरिकता र पासपोर्ट बनाउने अनि अध्ययनलाई बिचैमा छोडी बैदेशिक रोजगारीमा जाने चलन देखासेखीबाट नै बृद्धि भएको छ । शिक्षा र प्रविधिमा कमजोर जनशक्ति भएर कडा परिश्रम गर्ने मुलुकमा मजदुरी गर्न जाने प्रबृतिले पनि कर्मचारी तन्त्रमा प्रबेश गर्न नसकेको देखिन्छ । 

४.    समाधानको उपाय
थामी समूदाय कर्मचारी तन्त्रमा प्रबेश गर्र्नु नसक्नुका कारणहरुको पहिचान गरिसकेपछि सोको समाधान गर्न निम्नानुसारको उपायहरु अवलम्बन गर्न सकिन्छ :

(१)    आर्थिक उन्नती गर्ने
परम्परागत कृषि पेशालाई आधुनिकिकरण गरी व्यबसायिक खेतीलाई प्रश्रय दिनु पर्दछ । नगदे वाली, व्यबसायिक पशुपालन, फलफल खेती जस्ता आर्थिक उपार्जन हुने खेती गरेर आर्थिक उन्नती गर्नु अपरिहार्य छ । आर्थिक उन्नतीको लागि उद्योग धन्दा, सीप विकास र प्रविधिसंग परिचित हुनु आवश्यक छ । थामी समूदायका विपन्न बर्गलाई व्यबसायिक खेती तथा उद्यमी बन्न प्रशिक्षण दिने र उनीहरुको आर्थिक अवस्था सुधार गर्नु पर्ने हुन्छ । जसको लागि जातिय संस्थाले नेतृत्व गरी सरकारी कार्यालयसंग समन्वयको भूमिका खेल्नु पर्ने हुन्छ । जव आर्थि क्षेत्रको सुधार हुन्छ तब अन्य चौतर्फी विकासको अवसर प्राप्त हुन्छ । 
धनवान, बलवान र विद्धान बन्न सबैलाई मन लाग्छ । विद्धान वन्न धेरै पढेर होइन पढेको कुरा सम्झिानाले विद्धान भइन्छ, बलवान हुन धेरै खानाले होइन खाएको पचाउनाले बलवान भइन्छ भने धनवान हुनलाई धेरै कमाउनाले होइन कमाएको बचाउनाले धनवान भइन्छ । त्यसैले बचत गर्ने बानीले नै आर्थिक स्थितिमा सुधार आउने हुन्छ । आर्थिक उन्नतीका केही उपायहरु यस प्रकार हुन सक्छन् :
परम्परागत कृषि पेशालाई आधुनिकिरण गरेर आत्मानिर्भर बन्न सकिन्छ, कृषिमा नगदे बालीको व्यबसायिक खेती गरेर आर्थिक स्थितिमा सुधार ल्याउन सकिन्छ :

  • कृषिमा वीउबिजन, प्रारांगारिक मल, सिंचाई, माटो जांच, किटनाषक औषधी आदि पूर्वाधारको व्यबस्थापन गरेर,
  • परम्परागत पशुपालन-गाई भैंसी, बाख्रा, कुखुरा, हांस, बटृाई, कालिच आदि) लाई परिमार्जन गरी व्यबसायिक पशुपालन गरेर आर्थिक आर्जन गर्न सकिन्छ, 
  • व्यबसायिक पशुपालनबाट दुध, दही, घीउ उत्पादन गर्ने, मासु र अण्डा उत्पादन गर्ने, यसको लागि आवश्यक पर्ने तालीम लिई सामूहिक रुपमा व्यबसाय गरे फलदायी हुने देखिन्छ, 
  • हाम्रा परम्परागत कला सीपहरु जस्तै निगालाबाट बुनिने र काठबाट तयार गरिने विभिन्न सामानहरुको कला र सिपलाई आधुनिकिकरण गर्दै व्यबसायिक तवरबाट हस्तकलाका सामाग्रीहरु उत्पादन गर्नाले आय आर्जन गर्न सकिने, आधुनिक खेतीहरु जस्तै, किवि खेती, जडीबुटी खेती, अम्रिसो खेती, चिया खेती, कफि खेती, अदुवा, लसुन, प्याज, कोदो, फापर, लौट सल्ला खेती, फलपूल खेतीतर्पm कागती, स्याउ, केरा, अंगुर, एभोकाडो, जापानिज नस्पती, ड्रागन फ्रुट, आरु, आरु बखडा आदि आफ्नो स्थानीय हावापानीलाई सुहाउंदो व्यबसायिक खेती गरेर आर्थिक आर्जन गर्न सकिन्छ, 
  • सकेसम्म गाउंगाउमा सामूहिक खेती गर्नुका साथै उत्पादिन बस्तु बजारसम्म पुर्याउने व्यबस्था गरी आय आर्जनमा आत्म निर्भर हुन सकिन्छ,
  • पर्यटन व्यबसायलाई प्रबद्र्धन गर्ने, पर्यटक आकर्षण गर्ने र होमस्टेको अवधारणालाई अपनाएर अर्थोपर्जन गर्न सकिन्छ, 
  • थामी समूदायका सदस्यहरुलाई सीपमूलक तालीम प्रदान गराउने र दैनि ज्याला मजदुरीको रकममा बृद्धि गरेर पनि आर्थिक स्थितिमा सुधार ल्याउन सकिन्छ,
  • गाउं गाउंमा उद्योगको स्थापना गरी रोजगारीको मौका दिएर आर्थिक सुधार गर्न सकिन्छ, जस्तै सलाई फ्याक्ट्री, टुथपिक बनाउने, हस्तकलाका सामान बनाउने, चाउमिन, जाम, आलु चिप्स, दालमट आदि थुप्रै, 
  • बचत गर्ने बानी बसालेर पनि आर्थिक स्थितिमा सुधार्न सकिन्छ ।

(२)    शैक्षिक स्तरमा बृद्धि गर्ने
थामी समूदायको शैक्षिक स्तर बृद्धिका लागि माध्यमिक तह र उच्च शिक्षा हासिल गर्नेतर्फ युवा जमातलाई प्रोत्साहान गर्नु पर्ने हुन्छ । शिक्षा विना व्यक्तित्व विकास सम्भव छैन भन्ने सोचको विकास गर्नु पर्ने देखिन्छ । नेपाल थामी समाज जस्तो जातिय संस्थाले नेतृत्व गर्दै शिक्षा क्षेत्रमा उन्नतीको निमित्त सरकार तथा संघ संस्थाहरुसंग समन्वय गरी छात्राबृत्तिको पहल गर्नु पर्ने हुन्छ । बहुसंख्यक थामी विद्यार्थीहरु जसोतसो माध्यमिक तहसम्म पढ्न सक्षम भएता पनि उच्च शिक्षा अध्ययनको लागि आर्थिक अभाव भई आप्mनो प्रतिभालाई खुम्च्याउन बाध्य हुनु परेको परिस्थिति रहेको छ । जत्ति सक्दो समूदायका विद्यार्थीलाई शिक्षित बनाई कर्मचारी तन्त्रमा प्रबेश गर्न योग्य बनाउनुका साथै प्रशिक्षण दिने व्यबस्था मिलाउनु पर्दछ । शैक्षिक स्तर बृद्धि गर्न निम्नानुसारको उपाय हुन सक्छन् :

  • थामी समूदायका बालबालिकालाई सानैदेखि आफ्नो घरघरमा अभिभाबकबाट पढ्ने र पढाउने वाताबरणको तयार गरेर,
  • शिक्षाको महत्व र शिक्षा आर्जन गर्नु पर्छ भन्ने धारणा थामी बालबालिकाको मानसपटलमा मजबुतीका साथ राखेर, 
  • सानैदेखि थामी बालबालिकालाई सही र गलत छुट्याउने शिक्षा प्रदान गरेर,
  • आधारभूत तहको शिक्षा, माध्यमिक तहको शिक्षा र उच्च तहको शिक्षा हासिल गर्न आर्थिक अभाव भएका थामी विद्यार्थीहरुलाई छात्राबृत्तिको व्यबस्था गरेर, 
  • आफ्नो भविष्य निर्धारण गर्न नसक्ने तथा दुविधामा रहेका थामी विद्यार्थीलाई उनीहरुको रुची अनुसारको बिषय पढ्दा भविष्य कसरी निर्धारण हुन्छ र के कस्ता मौका पाइन्छ भन्ने कुराको बोध गराउन प्रशिक्षणको व्यबस्था गरेर,
  • प्राविधिक क्षेत्रमा रुची हुने विद्यार्थीलाई डाक्टर, इन्जिनियर, पाइलट, कम्प्युटर, ओभरसियर, नर्स,आदि तर्पm उत्प्रेरित गर्ने,
  • प्रशासन तथा व्यबस्थापन क्षेत्रमा रुची हुने विद्यार्थीलाई कर्मचारी तन्त्रमा प्रबेश गर्न तयारी गर्ने विषय बस्तु, प्रबेश गर्ने प्रक्रिया, प्रबेश पश्चात भविष्य निर्धारण आदि बारे प्रशिक्षण दिई प्रेरणा जगाएर शिक्षा आर्जनमा सुधार ल्याउन सकिन्छ, 
  • नेपालको सरकारी सेवाहरु, निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीमा प्रवेश गरी जिल्ला स्तरीय हाकीम हुंदै मुख्य सचिव बन्ने, प्रहरी प्रमुख बन्ने, आर्मीको चिफ बन्ने जस्ता महत्वपूर्ण अवसर प्राप्त हुने मार्गदर्शन गराएर शिक्षाको महत्व जगाउन सकिन्छ ।  

(३)    संस्कार संस्कृतिमा सुधार गर्ने
हाम्रा संस्कारका रीतिरिवाजहरु पनि समयानुकुल सुधार गर्दै लैजानु पर्दछ । परम्परालाई सम्मान गर्दै विधिको निमित्त थोरै मात्रामा मादक पदार्थको प्रचलन गर्ने गराउने, अनावश्यक खर्चमा नियन्त्रण गर्ने, धेरै दिनको सटृा थोरै दिनमा सक्ने गरी छोट्याउने जस्ता रचनात्मक रुपमा संस्कार परिमार्जन गर्नु उचित हुन्छ । यसमा पनि सर्वमान्य हुने गरी जातिय संस्थाले नै पहल गरी समन्वयको भूमिका निर्वाह गर्नु पर्दछ । जसबाट समूदायको आर्थिक उन्नती, शैक्षिक स्तर उन्नती र व्यक्तित्व विकास भई प्रतिस्पर्धा गर्न योग्य क्षमतावान थामी जनशक्तिको विकास हुन जान्छ ।  संस्कार सुधारको लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ :

  • समूदायका अगुवाहरुले सामाजिक अनुशासन पालन गरी आप्mनो आचरण व्यबहार नयां युवा पिडिको लागि एक आदर्श व्यक्तित्वको रुपमा नमुना प्रदर्शन गरेर संस्कार संस्कृतिमा सुधार लाउनु पर्दछ,
  • थामी समाजमा सानोलाई माया गर्ने र ठूलोलाई आदर गर्ने सामान्य संस्कारको सानै बालबालिकाको अवस्थादेखि नै शुरु गरी क्रमशः निरन्तर व्यबहारमा लागू गर्नु पर्दछ,
  • सबै भन्दा पहिले त परिवार र समाजमा ठूलो मान्छेहरु नै मर्यादामा रहने, सभ्य बन्ने, अनावश्यक ठटृा मष्करी नगर्ने, एक अर्कालाई आदर सम्मान भावबाट व्यबहार गर्ने जस्ता सदभाव देखाउनाले सभ्य समाजको निर्माण हुन्छ, 
  • जव थामी समाजमा सभ्यताको विकास हुन्छ त्यो समाजको चौतर्फी विकास हुंदै जान्छ, 
  • मादक पदार्थको न्यून प्रयोग गरेर संस्कार संस्कृति जोगाउन सकिन्छ, 
  • हाम्रो थामी समाज खुल्ला छ, बाजेदेखि नातिसम्म, महिलादेखि बालबालिकासम्म विना भेदभाव समान व्यबहार गरिन्छ । महिला वा वालिवालिका भनि लिंगिय भेदभाव पनि हुंदैन । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ तर यसबाट समाज अनियन्त्रित तर्पm उन्मुख हुने सम्भावना पनि रहन्छ , ध्यानमा राखी व्यबहार गर्नु पर्दछ, 
  • कम खर्चमा आप्mनो संस्कार संस्कृतिका परम्परागत रीतिरिवाजहरु पूरा गर्ने प्रबृत्तिलाई अपनाउंदै जानु पर्ने आवश्यक देखिन्छ ।

(४)    हिनता बोधबाट अलग रहने
मानव विकासको इतिहास हेर्दा यस धर्तीका सवै मानवका पूर्खा बांदरबाट नै विकसित हुंदै आएका हुन् । प्रकृतिको सामू सबै मानिसहरु समान हुन्छन् । प्रकृतिले सबैको लागि उही हावापानी, मौसम, अन्नवाली प्रदान गरको हुन्छ । थामी समूदाय र अन्य गैर थामी समूदाय पनि यसै धर्तीमा जन्मेर हुर्केका हुन् । अपवाद बाहेक प्रकृतिले कोही कसैलाई पनि पक्षपात गरेको हुंदैन । तर एकै गाउंठाउंको थामी समूदाय भन्दा गैर थामी समूदाय अब्बल भएर हरेक क्षेत्रमा अगाडि भएको देखिन्छ किन ? किनभने थामीले आफुलाई कमजोर, पढ्न नसक्ने, प्रतिस्पर्धा गर्न नसक्ने, आफु भन्दा अरुलाई नै बढी जान्ने बुझ्ने देख्ने जस्ता हारेको दास मानसिकताले गर्दा हिनता बोध भएको पाइन्छ । जुन व्यक्तित्व विकासमा ठूलो बाधाको रुपमा खडा भएको देखिन्छ । त्यस्ता हिनताबोधबाट समूदायलाई माथि उठाउनु पर्दछ । हिनताबोध हटाउने निम्न उपायहरु हुन सक्दछ :

  •  सबै मानव मष्तिष्क समान छन् भन्ने सोच राख्नु पर्दछ,
  • अरुसंग जे छ आफुसंग पनि त्यही नै छ अझ बढी हुन सक्छ,
  • अपवाद वाहेक कोही कोसैसंग अलौकिक शक्ति तथा दैबी शक्ति छैन,
  •  मानवले गर्न नसक्ने र असम्भव भन्ने कुरा संसारमा केही पनि छैन,
  • असम्भव भित्र पनि सम्भावना लुकेको हुन्छ सोको खोजी गर्नु पर्छ,
  •  जुन कुरा गर्न डर लाग्छ, त्यही कुरा पटक पटक गरेर डरलाई नै जित्नु पर्दछ,
  •  जीवनमा एकपटक असफल भइयो भनेर हार खाने होइन, प्रयास जारी राख्नु पर्छ,
  •  असफलताले नै सफलतातर्पm डोर्याउंछ ,कोशिस जारी राख्नु पर्दछ, 
  •   सम्झनुहोस्की तपाई खराब होइन, तत्कालिन समय खराब थियो, त्यसैले सफलता हात परेन, 
  •   सदा उच्च मनोवल बनाई राख्नुहोस्, सफलता तपाईकै हात लाग्ने छ, 
  •  कामयावी हासिल गर्नको लागि हिनता बोधबाट सदा अलग रहनुहोस्, 
  •  जवसम्म तपाईं आफु हार्नु हुन्न तपाइलाई दुनियाको कुनै ताकतले हराउन सक्दैन, ध्यान रहोस् ।

(५)    प्रतिस्पर्धाको भावना राख्ने
माथि चर्चा गरिएको आर्थिक अवस्थामा सुधार, शिक्षा हासिलमा सुधार, संस्कारमा सुधार र हिनता बोधबाट माथि उठेपछि थामी समूदायका सदस्यले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धाको लागि सक्षम हुन सक्छ । उसंग शारीरिक तथा मानसिक प्रतिस्पर्धा गर्न सक्ने भावनाको विकास हुन्छ । प्रतिस्पर्धाको भावना जगाउन निम्न उपायहरु अपनाउन सकिन्छ :

  • प्रतिस्पर्धामा उत्रिनको लागि सर्व प्रथम योजना बनाउने,
  • योजना बमोजिम अभ्यासमा निरन्तरता दिने, 
  • अभ्यासबाट प्राप्त सफल परिणामको मापन गरी रहने, 
  • अध्ययनशील रहने,भनिन्छ सूचना नै शक्ति हो -Information is power_,
  •  निरन्तर नयां नयां सूचना संकलन र अध्ययन गर्ने,
  •  एक्कइसौं सताब्दीमा जोसंग सूचना छ विजय उसैले प्राप्त गर्दछ, 
  •  सूचना मूलक अध्ययनले प्रतिस्पर्धाको भावना जगाउंदछ ।

(६)    सजिलो घेरा (Comfort Zone)  रहनुको सटृा चुनौतीको सामना गर्ने
थामीहरुको स्वभाव सजिलो र छिटोमिठो रोज्ने खालको हुन्छ । विशेष गरी मानसिक परिश्रम गर्नबाट पछि हट्ने तर शारीरिक परिश्रम गर्न मन पराउने हुन्छ । ब्यक्तित्व विकासको लागि चुनौतीको सामना गर्नु पर्ने हुन्छ । आफुलाई सजिलो घेरा भन्दा बाहिर निकाली आइपर्ने चुनौतीको सामना गर्ने क्षमताको विकास गर्नु पर्दछ । सजिलो र सरल कार्य त जो जसले पनि गर्न सक्छ नि तर केही चुनौतीपूर्ण काम गरेर सफल हुन सकेमा त्यस कामको महत्व हुन्छ । त्यस्ता चुनौतीको सामना गर्दै अगाडि बढ्ने व्यक्तिको लागि सफलताले पर्खी रहेको हुन्छ ।

(७)    अध्ययनशील हुने
अहिलेको एक्काइसौं शताब्दीको युगमा प्रत्येक पलमा विज्ञान तथा प्रबिधि र घट्नाक्रममा नयां नयां आबिष्कार तथा परिवर्तन आइरहेको हुन्छ । यस्ता ताजा सूचनासंग आपूmलाई जानकार राख्नु पर्दछ । कर्मचारी तन्त्रमा प्रबेश गर्नु मात्र नभई जीवनको हरेक चुनौतीलाई सामना गर्न अध्ययनशील हुनु जरुरी हुन्छ । अध्ययन मनन विना सफलता हात पार्न असम्भब हुन्छ ।

(८)    सोझोपनको साथै चलाखीपूर्ण विवेक प्रयोग गर्ने
थामीहरुको बंशाणुगत गुण सोझोपन हो । अरुलाई चांडै विश्वास गर्ने, चलाखीपूर्ण बिवेकको प्रयोग नगर्ने हुनाले प्रायजसो धोका मात्रै हात पर्ने घटनाहरु समाजमा देखा परेको पाइन्छ । थामीहरुको इमान्दारीको फाइदा अरुले लिने गरेको प्रशस्त उदाहरणहरु छन् । त्यसैले सोझोपनको साथै चलाखीपूर्ण विवेक प्रयोग गर्न निम्न उपायहरु हुन सक्दछन् :

  • स्थान र स्थितिको अवलोकन गर्ने,
  • आफु कम बोल्ने र अरुको कुरा बढी सुन्ने,
  • आफु बोल्दा वा प्रस्तुत हुंदा कुटनैतिक हिसावले प्रस्तुत हुने,
  • अरुलाई आफनो सोझोपन नै देखाउने, 
  • स्थान, माहोल, परिस्थिति र अरुको कुरा सुनेपछि सत्य के हुन सक्छ भनि विचार मन्थन गर्ने, 
  • आफुले लिने निर्णयले के कस्तो असर पर्छ, त्यसको परिणाम के कस्तो आउन सक्छ भनि पहिला नै आकलन गर्नु पर्दछ, 
  • आफुले लिने निर्णयको विकल्पहरु तय गर्ने, 
  • अन्तमा चलाखीपूर्ण विवेक प्रयोग गरी आप्mनो उचित निर्णयमा पुग्ने ।

(९)    शिक्षित युवा युवतिहरुलाई कर्मचारी तन्त्रमा आकर्षण गर्न प्रशिक्षण दिने
शिक्षित थामी युवा युवतिहरु भविष्य निर्धारण गर्न नसकि अन्योलमा परेका हुन्छन् । कुन विषय लिएर उच्च शिक्षा हासिल गर्ने, भविष्यमा के बन्ने, के पेशा अपनाउने, के व्यबसाय गर्ने जस्ता विषयले उनीहरुको मानसपटलमा सताई रहेको हुन्छ । उचित मार्गदर्शनको अभावको कारण अरुले जे गर्यो त्यतैतर्पm आपूmलाई डोर्याउने गर्दछन् । अहिलेको प्रबृत्ति अनुसार बैदेशिक रोजगार युवा पिडिहरुको रोजाइमा परेको छ । बैदेशिक रोजगारीमा जानु भन्दा स्वदेशमा नै रहेर कर्मचारी तन्त्रमा प्रबेश गर्नु दीर्घकालिन रुपमा उचित हुने देखिन्छ । नेपालको कर्मचारी तन्त्र भनेको स्थायी सरकार हो । कर्मचारी तन्त्रमा प्रबेश गर्नको लागि सर्वप्रथमतः लोक सेवा आयोगको परीक्षाको लागि तयारी गर्नु पर्दछ । कर्मचारी तन्त्रमा निम्न बमोजिमको आकर्षण विद्यमान रहेको हुन्छ :

  • कर्मचारी तन्त्रमा प्रबेश गर्नासाथ स्थायी हुने र कानून बमोजिम रोजगारी सुरक्षित हुने, 
  • देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुने, 
  • प्रबेश गरेको दर्जामा मात्र सीमित नरही पदोन्नती हुने, 
  • भविष्य सुनिश्चित हुने, 
  • देश दर्शन गर्न पाइने र सवै किसिमको समूदाय तथा जनतासंग प्रत्यक्ष रुपमा सहकार्य गर्ने अवसरले सिक्ने मौका पाउने, 
  • समाजमा आउने समस्या र सोको समाधान बारे दैनिक रुपमा अभ्यस्त हुन पाइने, 
  • विदेश भ्रमण, तालीम, गोष्ठी र मिसनहरुमा काम गर्ने मौका पाइने, 
  • आफ्नो क्षमता अनुसारको ओहोदा प्राप्त गर्न सकिने,
  • महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने मौका पाउनुका साथै व्यक्तित्व विकास गर्न पाइने, 
  • निबृत्त भइसकेपछि पनि आजीवन निबृत्तिभरण पाइराख्ने, 
  • सामाजिक, आर्थिक र राजनैतिक हैसियत पनि प्राप्त गर्न सकिने,
  • आफनो रुची अनुसारको प्रशासन सेवा, न्याय सेवा, लेखा सेवा, प्राविधिक सेवा, प्रहरी सेवा, आर्मी सेवा आदि सेवा रोजी प्रबेश गर्न सकिने ।

(१०)    उद्योगी, व्यबसायी र लगानीकर्ता लगाएतका विभिन्न पेशा वर्गमा सहभागी हुन प्रशिक्षण गर्ने.    
थामी समूदायको विकासको लागि चौतर्फी विकास हुनु जरुरी छ । उद्योगी व्यबसायी र लगानीकर्ता बनेमा समूदायको लागि मात्र नभई देशकै विकासमा टेवा पुग्ने हुन्छ । थामी समूदायको आर्थिक उन्नतीको लागि उद्योग व्यबसाय सञ्चालन गर्नु पर्दछ । सकेसम्म नोकर होइन, मालिक नै बन्नु उचित हुन्छ । आफ्नो क्षमता अनुसार सानो, मभ्mयौला र ठूलो उद्योग व्यबसाय गर्नेतर्फ थामी समूदायलाई अभिप्रेरित गर्नु पर्दछ । उद्योगी व्यबसायी बन्नको लागि सर्व प्रथमत ः सोच र परिकल्पनाको आवशयकता पर्दछ । उक्त सोच र परिकल्पनालाई साकार पार्न पूंजी, जनशक्ति र कच्चा पदार्थको परिचालन सम्बन्धी योजना बनाई कार्यान्वयन गर्नु पर्दछ । उत्पादित बस्तुलाई बजारमा विक्री बितरण गर्ने जस्ता बजारीकरण गर्नेसम्मको पूर्ण योजना बनाउनु पर्दछ । उद्योगी, व्यबसायी र लगानीकर्ता बन्न चाहनेहरुको लागि निम्नानुसार फाइदा हुन सक्दछ :

  • कर्मचारी तन्त्रमा भन्दा आर्थिक रुपले स्वतन्त्र र अर्थोपार्जन गर्न सकिने, 
  • अरुलाई रोजगार दिन सकिने, 
  • समयको स्वतन्त्र हुने र आर्थिक अभाव खेप्न नपर्ने, 
  • शैक्षिक योग्यता भन्दा पनि दृढ इच्छा शक्ति भएको मानिसले गर्न सक्ने,
  • लगानीकर्ता भएमा उसलाई धन र समयको अभाव नहुने,
  • स्वतन्त्र व्यबसाय गर्नाले कसैको दवाब र प्रभावमा बस्न नपर्ने,
  • समाजमा इज्जत प्रतिष्ठा प्राप्त हुने ।

५.    निष्कर्ष 
सामूदायिक सशक्तिकरण र विकासको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने, नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, सरकारी सेवा कसरी लिने भन्ने सचेतना अभियान चलाउने, आर्थिक उन्नतीको लागि तरकारी खेती, सिलाई बुनाई, पशुपालन, प्राविधिक तालिम प्रदान गर्ने, सहभागीतामूलक योजना निर्माण, पारदर्शिता, बजेटको सूचना, हिसावकिताव खोज्ने, वाल विवाह, बोक्सी प्रथा जस्ता सामाजिक कुरीतिलाई हटाउने आदि चेतनामूलक कार्यक्रम बनाई संस्थाले गाउंको टोल टोलमा अभियान चलाउनु पर्ने निष्कर्ष रहेको छ ।

६.    सुझाव :
नेपाल थामी समाजको केन्द्र देखि जिल्ला स्तरसम्मका नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले आफ्नो समाज प्रतिको गहनतम जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नु पर्दछ । नेतृत्वमा पुग्न कोशिस गर्ने तर पद तथा ओहोदा अनुसारको कर्तब्य निर्बाह नगर्ने र जिम्मेवारीबाट पलायन हुने जस्ता विकृतिहरु देखा परेको छ ।  समाजको विधान बमोजिम नियमित कार्य समितिको मिटिङ गर्ने, सदस्यता बृद्धि गर्ने, आर्थिक श्रोत जुटाउने, सामाजिक कार्यक्रम गर्ने, समूदायको चौतर्फी विकासमा समन्वयकारीे भूमिका निर्वाह गर्ने, बार्षिक साधारण सभा समयमै गर्ने, बार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउने, साधारण सभाबाट पारित गर्ने, कानून बमोजि लेखापरीक्षण गराउने र नविकरण गर्ने जस्ता संस्थागत कार्यहरु समयमा नै गर्नु पर्ने हुन्छ ।

छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावहरुको संकलन गरेर लिखित अभिलेख राख्नुका साथै संस्थागत सुदृढिकरण र भाबि कार्य योजना तयार गर्नु पर्ने सुझाव दिन चाहन्छु । नेपाल थामी समाजले निम्नानुसारको गुरु योजना बनाई कार्यान्वयन गर्नु अपरिहार्य देखिन्छ :

  • संस्थागत सुदृढिकरणको लागि आवश्यक पर्ने आफ्नै जग्गामा कार्यालय भवन बनाउने,
  • समाज विकासको लागि गुरु योजना बनाउने, 
  • बार्षिक कार्य योजनाको क्यालेण्डर बनाई क्रमिक रुपमा कार्यान्वयन गर्ने गराउने,
  • सरकारी निकाय तथा सरोकारवाला संघसंस्थासंग आवश्यक सम्पर्क समन्वय राख्ने,
  • गुरु योजना बनाउनका लागि आवश्यक पर्ने समूदायको बच्चा देखि बृद्धा उमेरसम्मका जनसंख्या, ठेगाना, महिला, पुरुष, शैक्षिक योग्यता, पेशा व्यबसाय, सीप, अपनाएका धर्म आदि जस्ता आबश्यक पर्ने तथ्यांक संकलन गर्ने गराउने,
  • संगठन विस्तारको लागि जिल्ला स्तरबाट नगरपालिका, गाउपालिका, वडा र टोल स्तरीय नेटवर्क बनाउने र उक्त नेटवर्क मार्फत आबश्यक तथ्यांक सजिलै संकलन गर्न सकिने,
  • संस्थाको लागि कोष खडा गर्न वा आर्थिक सहयोग गर्न थामी समूदायको प्रति व्यक्ति रु.१० को दरले संकलन गरेर केन्द्रमा आधा र जिल्ला स्तरीय कार्यालयमा आधा राख्ने गर्नाले थामी समूदायको जनसंख्या पनि फरक नपर्ने गरी संकलित रकमको आधारमा गणना हुन्छ  भने आर्थिक सपोर्ट पनि प्राप्त हुने भयो,
  • तथ्यांक संकलन पश्चात समूदायबाट डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, पाइलट, प्रशासक, व्यबस्थापक, प्राफेसर, शिक्षक, कर्मचारी, आर्मी, प्रहरी, उद्योगी, व्यबसायी आदि बन्न र बनाउन युवा पिडिहरुलाई प्रेरित गर्ने, सहजीकरणको भूमिका निर्वाह गर्ने नीति तय गर्ने,
  • थामी समूदायका व्यक्तित्वहरुले प्राप्त गरेका हालसम्मको उच्च ओहोदा, शैक्षिक योग्यता तथा कामयावी जस्ता हरेक क्षेत्रको अभिलेख राख्ने र उनीहरुको सम्मान गर्ने परम्पराले नयां पिडिलाई प्रेरणा जागोस्,
  • संस्थाले १० कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई उनीहरुको भविष्य निर्धारण सम्बन्धी अभिमूखिकरण कक्षा सञ्चालन गर्ने अभियान चलाउने ।

अन्तमा, सफलताको मूल मन्त्रः मष्तिष्कमा समझदारी, कांधमा जिम्मेवारी र हृदयमा इमान्दारी !

-लेखक पुर्व प्रहरी निरीक्षक र रजिस्टर्ड अडिटर हुन् । यो आलेख नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले प्रकाशन गरेको पुस्तक नान्को आथाङ उलामबाट साभार गरिएको हो । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update