Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जीवन लामाको दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ विमोचन

चरिकोट - पत्रकार एवं कवि जीवन लामाले आफ्नो दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ प्रकाशनमा ल्याएका छन् । लामाले आफ्नो दोस्रो कविता संग्रहको रुपमा ‘चौसट्ठी वर्गमिटर’ ल्याएका हुन् । उक्त कृतिको सोमवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायतले विमोचन गरे ।

पुस्तक विमोचन गर्दै मेयर केसीले कलासाहित्यको दायरालाई थप फलाकिलो बनाउनुपर्ने आवश्यकता औल्याए । यसअघि लामाले पहिलो कृतिका रुपमा ‘निदोषी मान्छे’ प्रकाशनमा ल्याईसकेका छन् । चौंसट्ठी वर्गमिटर जमिनमा जिविकोपार्जन गर्नुपर्ने लोपोन्मुख सुरेल जातीको बाध्यताबारे लेखिएको कविताको शिर्षकबाट पुस्तकको नामाकरण गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रममा कवि लामाले लोपोन्मुख सुरेल समुदायको समस्यालाई आफ्नो सिर्जनामा समेट्न खोजेको बताए । कृतिमा सुरेल सहित अन्य जातजाति र अन्य विषयमा लेखिएका ३५ वटा कविताहरु संग्रहित छन् । 

विष्णुलक्ष्मी साहित्य पुरस्कार छनौट समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख केसि, पत्रकार चिरञ्जीवि मास्के, संचार मन्त्रालयका पुर्व संचारविज्ञ राजेन्द्र मानन्धर, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, जनजाति महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ, सुरेल उत्थान संघका अध्यक्ष सुवास सुरेल लगायतले पुस्तक र कलासाहित्य बारे चर्चा गरे । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update