काठमाडौँ - प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्ति संविधानसम्मत रहेको प्रष्टिकरण दिएका छन् । परिषदमा भएका नियुक्ति विरुद्ध परेको रिटमा लिखित जवाफ पेस गर्दै उनले यस्तो जवाफ दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगहरूमा संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
ती रिटमा प्रधानन्यायाधीश जबराले परिषद् सदस्यका हैसियतमा जवाफ पेस गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रधानन्यायाधीशको जवाफ प्राप्त भएको जनाएको छ ।
संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेशको सम्बन्धमा निवेदकले उठाएका विषय संघीय संसद्ले विचार गर्न सक्ने र आवश्यक निर्णय दिन सक्ने हुँदा संविधानसम्मत जारी भएको अध्यादेशबमोजिमका कार्यलाई गैरसंवैधानिक भयो भनि निवेदकले निवेदनमा लिएको दाबी मनासिव छैन, सभामुखले दायर गरेको रिटको जवाफमा प्रधानन्यायाधीशले लेखेका छन्, ।’
संविधानको व्यवस्थाबमोजिम जारी भएको अध्यादेशको व्यवस्थाअनुसार बसेको परिषद्का काम कारबाही गैरसंवैधानिक भन्न नमिल्ने प्रधानन्यायधिसले उल्लेख गरेका छन् । परिषद्मा सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको निर्णय हुन सक्नेछ भन्ने अध्यादेशमा व्यवस्था गरिएको र सोहीअनुसार संवैधानिक परिषद्ले विभिन्न निकायमा नियुक्ति सिफारिस गरेको प्रधानन्यायाधीशको जिकिर छ ।
२०७७ मंसिर ३० मा बसेको बैठकको निर्णय उक्त बैठकको गणपूरक संख्या पुगेको र उपस्थित सबैको सर्वसम्मतिको आधारमा निर्णय भएको अवस्था एकातर्फ रहेको छ भने अर्कोतर्फ तत्काल बहाल रहेका पदाधिकारीको बहुमत सदस्यको सर्वसम्मतिबाट निर्णय भएको अवस्था हुँदा मिति २०७७।०८।३० गतेको संवैधानिक परिषद्को बैठकमा गणपूरक संख्या नै नपुगी बैठक बसी निर्णय गरेकोले प्रारम्भिक रुपममै उक्त बैठक अवैध रहेको भनि लिएको जिकिर कानुनसम्मत नरहेकोले रिट निवेदन खारेजभागी छ,ु लिखित जवाफमा उल्लेख छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २१ गते संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि] सम्बन्धी [पहिलो संशोधन]अध्यादेश, २०७७ जारी गरेकी थिइन् । अध्यादेशमा गरिएको व्यवस्था अनुसार संवैधानिक परिषद्को बैठक बसेर विभिन्न संवैकानिक आयोगहरूमा नियुक्ति सिफारिस भएको थियो ।