चरिकोट – नेकपा एमाले एक समय दक्षिण एसियामै सबैभन्दा धेरै संगठित सदस्यसहितको सुदृढ र बलियो पार्टीको रुपमा स्थापित भयो । तर एमालेभित्र पछिल्लो समय चुलिएको शक्ति संघर्षका कारण पार्टी कमजोर मात्रै होईन, फुट्नेसम्मको चर्चा छ ।
२०५४ सालको विभाजन बाहेक निरन्तर एकताबद्ध रहेको एमाले अहिले पुन संकटको डिलमा उभिएको हो । कार्यकर्ता पंक्तिमा पार्टी फुट्ने हो कि भन्ने चिन्ता व्यप्त छ । यद्यपी पार्टी बिभाजन रोक्ने नेताहरुको अन्तिम कसरत जारी छ । कथमकदाचित पार्टी बिभाजन भैहाल्यो भने त्यसको स्वभाविक असर तल्लो तहसम्म पर्नसक्छ ।
एमाले दोलखा भने पार्टी विभाजननै भयो भनेपनि जिल्लामा पार्टीको पुरानो बिरासत कायम राख्ने तयारीमा जुटेको छ । एमाले दोलखाभित्र बिरासत जोगाउँदै पार्टीलाई थप सुदृढ र शक्तिशाली बनाउनेबारे बहस सुरु भएको हो । शनिवार सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा बसेको बैठकमा पनि नेताहरुले त्यसबारे आ–आफ्ना बिचार प्रस्तुत गरे ।
राजनीतिक कार्यदिशा र बैचारिक आधार
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद र त्यसको आलोकमा अघि सारिएका सहि राजनीतिक कार्यदिशा, नीति, योजना र कार्यक्रम सिंगो पार्टीलाई बलियो बनाउने आधारका रुपमा नेताहरुले प्रस्तुत गरेका छन् । समृद्ध नेपाल सुखि नेपालीको नारा दिईएको सामाजिक न्यायसहितको समृद्धि र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र एमालेको रहेको र त्यसको व्यवहारिक कार्यान्वयन अघि बढेको नेताहरुले बताए ।
केन्द्रमा अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा चीनसँग भएको पारवाहन सम्झौता, चुच्चे नक्सा प्रकाशन देखि सामाजिक सुरक्षा, ठुला विकासे परियोजना र जनजिविकाका सन्दर्भमा अनगिन्ति महत्वपुर्ण कामहरु भएका छन्, ‘जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल भन्छन्, ‘सहि कार्यदिशा, नीति, नेतृत्व, योजना, कार्यक्रम, सुदृढ संगठन, चुनाव चिन्ह आदि कारणहरु एमालेले श्रेष्ठता हाँसिल गर्ने आधारहरु हुन् ।’
सुदृढ र बलियो संगठन
एमालेले जिल्लामा आफ्नो बिरासत जोगाउने अर्को महत्वपुर्ण आधारको रुपमा सुदृढ संगठनलाई लिएको छ । जिल्लामा एमालेको संगठनलाई सबैभन्दा व्यवस्थित, सुदृढ र बलियो मानिन्छ । माओवादी केन्द्रसँग एकतापछि निष्क्रिय जस्तै बनेको पुरानो संगठनलाई पुनः व्यवस्थित र चलायमान बनाउने उसको योजना छ ।
केन्द्रमा दुई पक्षबीच चुलिएको शक्ति संघर्षले जिल्लामा ठुलो असर नपार्ने नेताहरुको निष्कर्ष छ । त्यसका लागि साउनभित्र संगठित सदस्यता नविकरण र अद्यावधिक गरिसक्ने, तल्लो तहसम्मको पार्टी कमिटीको बैठक बस्ने र संगठन पुर्नगठन गर्दै अघि बढ्ने प्रारम्भिक निर्णय एमाले बैठकले गरेको छ ।
यसअघि दश हजारको हाराहारीमा संगठित सदस्य रहेकोमा अद्यावधिक गर्दा १५ हजार नाघ्ने अनुमान छ । संगठन सदृढिकरण, जनपरिचालन लगायतका योजना कार्यक्रमहरुको कार्यतालिकासहितको निर्णय आगामी बैठकबाट हुने नेताहरुले बताएका छन् ।
बलियो नेतृत्व पंक्ति
पार्टी निर्माणको महत्वपुर्ण फ्याक्टर मानिने प्रभावशाली नेताहरुको विशाल पंक्ति एमालेसँग छ । प्रदेश कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं संघीय सांसद पार्वत गुरुङ लगायतका नेता राष्ट्रिय स्तरमै स्थापित नेताहरु हुन् । दोलखाको राजनीति उनीहरुकै वरिपरी घुम्ने गर्दछ ।
संघीय माननीय शान्ति प्राखिन, वाग्मती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समितिसहित ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्राय सबै वडा अध्यक्षहरु संस्थापन पक्षमै सक्रिय छन् । पुर्व सांसद जितबिर लामा, तत्कालिन जिल्ला सभापति लालकुमार केसी समेत एमाले संस्थापनतिर खुलेका छन् ।
सिमित नेताहरु माधव पक्षमा खुलेपनि एमालेका सबैजसो पुराना नेताहरु एकजुट देखिएका छन् । माधव नेपाल पक्षमा लागेका नेताहरुलाई फर्काउने प्रयास भैरहेको छ । जिल्ला बैठकलाई सम्बोधन गर्दै नेता पार्वत गुरुङले केन्द्रमा जे भएपनि जिल्लामा एमालेलाई अन्तिमसम्म एकजुट बनाएर छाड्ने बताए ।
एमालेको तल्लो तहका कार्यकर्ता पंक्तिमा पार्टी कुनैपनि हालतमा फुट्न नहुने जबरजस्त मनोविज्ञान छ । जसले निर्वाचनमा ठुलो अर्थ राख्नसक्छ । कार्यकर्ता र जनताबीचमा सँधै
अन्य दलका नेता कार्यकर्ता तान्ने रणनीति
एमाले संस्थापन पक्षले दोलखामा माधव पक्षबाट हुनसक्ने क्षति अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश गराएर पुर्ति गर्ने रणनिती बनाएको देखिन्छ । दोलखामा खासगरी माओवादी केन्द्रका केन्द्रदेखि तल्लो तहसम्मका नेता कार्यकर्ता एमाले प्रबेश गर्न थालेका छन् ।
माओवादीका पुर्व केन्द्रीय सदस्य कृष्ण भुजेलसहित लामो समय भुमिगत जीवन बिताएका जिल्लास्तरिय दर्जनौं नेताहरुले एमाले प्रबेश गरिसकेका छन् । अन्य थुप्रैं नेताहरु प्रबेशको तयारीमा रहेको एमाले स्रोतले बतायो । यस्तै संघीय समाजवादी पार्टीका ठुलो पंक्ति समेत एमाले प्रवेश गरेको छ । कांग्रेसका थुप्रै असन्तुष्ट नेता कार्यकर्ताहरु समेत एमालेमा सुरक्षित हुन खोजिरहेका छन् ।
अन्य दलका कमजोर नेतृत्व
दोलखामा एमालेको प्रतिद्धन्द्धिको रुपमा कांग्रेस र माओवादी छन् । तर ती पार्टीका कमजोर र जनता कार्यकर्ताबाट अलगथलग नेतृत्वको फाईदा एमालेले लिँदै आएको छ । आम पार्टी पंक्तिको विस्वास जित्नसक्ने क्षमताको नेता नहुनुनै दोलखामा कांग्रेसको दुर्भाग्य रहेको धेरै कार्यकर्ताहरुको गुनासो छ । कांग्रेसकै नेताहरुमध्ये तुलनात्मक रुपमा बलियो मानिएका नेतासमेत पछिल्लो समय गम्भिर बिवादमा तानिएका छन् ।
माओवादी दोलखाभित्र नेताहरुबीच बिगतदेखिनै चरम अन्तरबिरोध छ । पार्टीमा भुमिगतकालदेखि संघर्ष गरेका र पछिल्लो समय जोडिएका कार्यकर्ताबीच द्धन्द्ध छ । पार्टीमा पछि जोडिएकाहरु हाबी हुन थालेपछि पुराना नेता कार्यकर्ताहरु निराश छन् । उनीहरु पार्टीबाट अलग्गिने क्रम बढेको छ ।
पार्टीको नाम र चुनाव चिन्ह
एमालेलाई बलियो बनाउने आधार पार्टीको नाम र चुनाव चिन्ह पनि हो । कार्यकर्ता मतदाता पंक्तिमा एमाले र सुर्य चिन्ह प्रतिको छाप यति गहिरो छ की जस्तो परिस्थितिमा पनि उनीहरु त्यो छोड्न सक्दैनन् । उनीहरुमा जन्मजात एमाले र सूर्य चिन्ह आँगालेका कारण मर्दासम्म छाड्न नसक्ने मनस्थिति छ ।
नाम र चुनाव चिन्हले एमालेलाई टे«डिस्नल फोर्सको रुपमा स्थापित गरेको जानकारहरु बताउँछन् । ‘एमाले र चुनाव चिन्ह एउटा ब्राण्ड जस्तै बनिसकेको छ, त्यसले पनि पार्टी जीवनलाई ठुलो सहयोग गर्छ, जिल्ला उपाध्यक्ष नरबहादुर श्रेष्ठले भने ।’