Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशको दोलखासहित ८ जिल्लामा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

चरिकोट - वाग्मती प्रदेशका दोलखासहित ८ जिल्ला स्थित अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढेको छ । जसका लागि बोलपत्र आह्वान भई करीब रु पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वाग्मती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा. वसन्त अधिकारीले केही दिनभित्रै ती जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने तयारी भइरहेको जानकारी दिए । 

प्रदेशको दोलखा, धादिङ, काभ्रे, रसुवा, रामेछाप, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड सङ्क्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न अक्सिजन प्लान्ट, पीसीआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउन प्रदेश सरकारले बजेट विनियोजिन गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको लागि आवश्यक तयारी भइसकेको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको सचिवालयले जानकारी दिएको छ ।

कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको हो । 

यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update