काठमाण्डौं - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिएपछि एक नेपाली नागरिक नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय जयसिंह धामी रहेका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनी महाकाली नदीमा खसेका हुन् ।
तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्ग्दै एसएसबीले फलामे डोरी निकालिदिएको प्रत्यक्षदर्शीको भनाई छ ।
एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको र घट्नाबारे थप अध्ययन भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । धामीका परिवारले घट्नाको निष्पक्ष छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई घट्नाको छानविनमा सहयोग गर्न आग्रह गर्दै पत्र पठाएको छ । तर भारतीय पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।