चरिकोट – दोलखामा कोरोना संक्रमितको संख्या ३३८ पुगेको छ । बिहिवार आज १५ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३३८ पुगेको हो । बिभिन्न स्थानीय तहमा ३९ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा बुधवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघिको रिपोर्टमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । बिहिवार २३ जना बिरामी निको भएर घर फर्किएका छन् । जसमा भीमेश्वर नगरपालिकाका २२ र जिरी नगरपालिकाका १ जना छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भीमेश्वर नगरापालिकामा सबैभन्दा बढि १६७, जिरी नगरपालिकामा १४, कालिञ्चोक गाउँपालिकामा ४५, गौरीशंकर गाउँपालिकामा ३ जना, विगु गाउँपालिकामा ३० जना, तामाकोसी गाउँपालिकामा ३२, शैलुङ गाउँपालिकामा ४, मेलुङ गाउँपालिकामा ६ र बैतेश्वर गाउँपालिकामा ३७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय कोरोना संक्रमितमध्ये ३३१ जना घरमा र ७ जना अस्पतालमा उपचाररत छन् ।