एउटा परिवार अनि समाज यस्तो । जहाँ ५, ६ वर्षको उमेरदेखि हो अब चिया, खाजा र खाना आफै बनाएर (पकाएर) खान सिक्नुपर्छ, घरमा पहुनापात टार्नुपर्छ, घर सफा–सुग्घर राख्नुपर्छ यस्तै, यस्तै । यो त सुखको कुरा भो, त्यही कालमै हो अथवा यो भन्दा अघिल्लो पुस्ताको कुरा, दुधे दाँत साटिदा–नसाटिदै अर्काको अर्मपर्म । यतिमात्रै होइन, धनी, हुनेखानेको घरमा काम गर्न बस्नुपर्ने ।
सुकिलो–मुकिलो कुरा नगरौं, शरीर ढाँक्ने एकसरो लुगा पनि लाउन नपाएका आफ्ना छोराछोरीलाई पाँकेको भान्सा बाँड्न नसकिदै भाँडो रित्तिएपछि आमा भोकै रहनुपर्ने त्यो हजुरआमाको पुस्ता, जसको जीवनमा पेटभरी खाएको सायद थोरै मात्र सम्झना होलाπ किनकी नखाएको त, सधैं जस्तै दैनिकी नै थियो नि, यो नौलो थिएन सम्झिरहनलाई पनि । हजुरआमा आज पनि भन्नुहुन्छ, पेटभरी चामलको भात खानलाई दशैं–तिहार आउनुपथ्र्यो, खुट्टामा लाउने केही थिएन, नांगो गोडा हिउँमा हिडेर भारी बोक्नुपथ्र्यो, आफूभन्दा ठूला (जात–वर्गका) कोही पनि आफू पछाडि आउदै गरेको थाहा पाए, एकछिन रोकिएर ती ठूला मान्छेलाई अगाडि जान दिनपथ्र्यो ।
बिहेबारी गर्दापनि अहिलेको जस्तो राम्रा–राम्रा लुगा कहाँ पाउनु त्यो जवानामा ? माइतीले काँध बोकेर अर्काको घरलाई दिएपछि ‘मारे पाप, पाले पुण्य’ भनेर ज्वाँइलाई जिम्मा । तर खै किन हो, सुत्केरी अवस्थामा पनि आफ्नी छोरीलाई ज्वाँइले कुटेको सुनेपछि मोटो लौरी लिएर ठट्टाउन पुग्नुभएको थियो रे, ज्वाँइकै आँगन । भैंसीलाई आफ्नो सिंङ, भारी हुँदैन भन्ने मान्यता रहेछ हजुरआमाको ।
आज पनि ठूलबुवा, बुवा र घरको ठूलो मान्छेको अगाडि जिस्केर बोलेको यहाँसम्म कि, ‘शौचालाय जान्छु’ भनेर बोलेपनि हजुरआमा निको मान्नुहुन्न, यसलाई छाडा व्यवहारको रुपमा लिनुहुन्छ । त्यही समय थियो, अहिले बोली फुट्न नपाउदै मोबाइल र डिजिटल गेमहरुमा, मोन्टेसरी स्कूलमा, फनपार्क, सिटीमल, बेबी कन्टेस्ट् आदि–ईत्यादिमा पुलकित नानीहरु बाख्रा, भेडा गोठाला, भाइबहिनीको रेखदेख र आमाको घरधन्दामा व्यस्त हुन्थे ।
अनि काम गर्दा जति गल्ती भयो उति पाउथे, आमा, बुवा र घरका ठूला मान्छेको झाप्पड, पिटाई र गाली । यो एक जना, दुई जनाको घरको कुरा मात्रै थिएन, सिंगो समाजलाई यो बानी नै लागिसकेको थियो, यो बानी अझैपनि मोर्डन भनिने घरपरिवार, समाजमा पनि छ । यस्ता घटना, दुर्घटनाहरु बाहिर आइरहेका छन् पनि । उही समयमा साथीहरुले सौेतेनी आमाहरुले त, कोठामा ढोका थुनी–थुनी कम्मरमा लगाउने बेल्टले पिसाब चुइन्जेल कुट्ने कुरा पनि सुनाउँथे, कति त, आँखाले देखियो पनि ।
जहाँसम्म मलाई याद छ, यो बढी समाजका छोरी मान्छेहरुले भोग्थे, कुटाई खान्थे, किनकी घरको बढी काम त उनीहरुले नै गर्नुपथ्र्यो, यसको जस, अपजस् उनै नानीहरुमाथी । हजुरआमाको कालदेखि थोरैभएपनि बाल्यकालको यो कथा । हुन त, आजको दिनमा काम लाग्दैन पनि । तर, भन्न यतिमात्रै खोजेको हो कि, त्यसरी गाली, कुटाई खाएका नानीबाबुहरुले अंगालो हालेर आफ्नै जन्मदिने आमासँग, बुवासँग, दाजुभाई र दिदीबहिनीसँग वा आफ्ना आफन्तजनसँग किन साट्न सकेनन् प्रेम ? र पोख्न सकेनन् निर्धक्क आफ्ना मनमा लागेका कुरा । आखिर ती कलिला अवोला मनहरुलाई के को जालोले गजुल्टाएको थियो त्यो बेला ? के यसले हामीलाई बाँच्न सजिलो बनाएको थियो ? र अहिले पनि छ ?
हुन त, समयक्रमसँगै कति परिवर्तन पनि हुन सके तर त्यो जीवन र त्यो समाज त्यही अन्धकारमा बसिरह्यो, जो परिवर्तन हुन सकेनन् । यसका लागि एउटा सानो उदाहरण यहा जोड्न मन लाग्यो, ‘खुसी र सफल परिवारमा एउटा विद्यार्थी उच्चश्रेणी वा राम्रो अंक प्राप्त गरिरहँदा यस्तै झगडा गर्ने प्रवृत्तिका परिवारका विद्यार्थीहरुलाई त्यस्तै अंक वा सफलता प्राप्त गर्न गाह्रो हुन्छ । यी दुई परिवारमा एउटा फरकपना छ, र यो अझै पनि छ । एक थरी अभिभावक (सम्पन्न वर्गका) ले आफ्ना छोराछोरी ज्ञानी, असल छन् भनेर तारिफ गर्दा आफ्ना मुटुभन्दा प्रिय सन्तान अर्थात् नानीबाबुहरुलाई वास्तवमा माया गर्न जानेर भनौं या नजानेर गाली र कुटाई पाएका नानीहरुलाई अचम्म लाग्नु स्वभाविक हो ।
यो प्रवृत्ति बालापन वा कुनै समयमा मात्रै सिमित रहेन । अशिक्षित, गरिबी र चेतनास्तर विकास नभएको परिवार र समाजमा यो प्रवृत्ति, भरिएको गाग्रीको पानी भुइँमा पोखिए झैं मात्रै अलि–अलि पोखिदै गयो भने शिक्षित र सु–संस्कृत र सम्पन्न परिवारमा भने मोर्डन हुनुपर्छ भन्ने देखासेखीले पनि केही परिवर्तन भयो र केही परिवर्तन, वास्तवमै चेतनाको विकासले पनि ।
हामीले सुन्छौं, देख्छौं अनि भोगिरहेका छौं, खासमा नानीहरु अर्थात् छोरीहरुको जीवनलाई कसरी आफ्नै आफन्तहरुले दास बनाउदै आएका छन् । यीनै पृष्ठभूमिमा भनिएझैंैं र यिनै प्रवृत्तिमा जीवनभर बाँच्नेहरु स्वयम् आफूपनि अध्याँरो संसारमा बाँच्छन् र अरुलाई पनि यसैमा समाहित हुन त्यही पहिलादेखि सिक्दै आएको सीप अर्थात् हप्की–दप्कीको सुत्र प्रयोग गरिरहन्छन् । लैङ्गिक भिन्नताको आधारमा छोराले यो गर्नुहुन्छ र छोरीले यो गर्नुहुँदैन भन्ने विभेदभूर्ण सोचाईलाई आफ्नो जीवनको धरोहर सुत्रको रुपमा लिन्छन् ।
हामीले आज पनि सुन्ने गछौं, पोथी बाँस्नु हुँदैन, समाजमा क्रान्तीकारी नारा लाउनेहरुले घरकै छोरी, बुहारीहरुमाथी अरु तर्क नपाएपछि जसरीपनि होच्याउनको लागि भन्छन् – बाँस्ने पोथीलाई काटेर खानुपर्छ । यो समाजमा छोरी, बुहारी कुट्नु सामान्य कुरा हो भने, काट्नु नौलो कुरा पनि त होइन, यो पनि हामीले भोगिरहेकै कुरा हो । यद्दपि, पुरुषमाथीको हिंसा पनि एक ठाउँमा छ । पुरुष हिंसाको कुरा उठ्दा लाज, शरम पचाएर हो मा हो थपेर पुरुषार्थ बढाउने जमात् पनि यो समाजमा छ्याप्छ्याप्ती छ । तर छोरा र छोरी बीचको खाडल कहाँनिर छ ? यो न्यायपूर्वक नियाल्न, केलाउन र अध्ययन गर्न पनि आवश्यक छ ।
सदियौं देखि समाजले पैतालामुनि कुल्चदै आएको विभेदित समाजको कथा–कहानी एकैचोटी सबै लेख्न कहाँ सकिन्छ र ? यति लेख्न पनि निकै फुर्सद जुराउनुपरेको छ । मेरो ममतामयी आमाबुवा, दाजुभाई, दिदीबहिनी आउनुस्, हामीले आफ्नो परिवार, समाज र अरुको परिवार, समाजबीचको भिन्नतालाई, राम्रो–नराम्रोलाई धेरै नियाल्यौं । यसैमा हाम्रो पिता–पुर्खाको जीवन गयो । यो समाजमा कहिल्यै माथी उठ्न नदिनका लागि बनाइएका जञ्जीरमुखी सोचलाई, सिद्धान्तलाई कसैले इमानदारपूर्वक मानीरह्यो र जीवनमा अबिलम्ब पालना गर्दै गएको कोही छ भने त्यो हामी मात्रै होलाऊ सायद ।
जसले परिवर्तनको धागोको छेऊ–टुप्पो भेटाउन सकेन, हामीमाथी राजनीति गर्नेहरुले फगत सिद्धान्तको चाङ मात्रै थोप¥यो र हामी अझ अल्मलमा प¥यौं । यसैमा झगडा गरिरह्यौं तर आफू, आफ्नो परिवार र समाज परिवर्तन गर्ने धागोको सुर्केना फेला पार्न सकेनौं । तर आफ्नै परिवार र समाजभित्रको राम्रा–नराम्रा कुरालाई कहिल्यै केलाउने प्रयास गरेनौं । हामीलाई अरुको भारी बोक्दा–बोक्दा आफ्नोबारे सोच्ने समय मिलोस् पनि कसरी ? हामी त, दाँजीरह्यौं अरुसँग । अरुले समाजमा छाडिदिएको विभिन्न तर्कनासँग, सिद्धान्तसँग । हामी यिनै अरुले दिएका चीजबीजहरुमा मात्रै रमाइरह्यौं । जसले हाम्रो मानव जीवनलाई पनि मानव भएर बाँच्न दिएन अथवा हामीले सकेनौं ।
जसकारण हाम्रो जीवन गाह्रो बनिरह्यो, सजिलो बनेन । बाँच्नै गाह्रो बनाइरहने यी चिन्तन, सोचाई र भोगाईहरु अब पनि परिवर्तन नभए कहिले हुने ? यी बिनाशर्त परिवर्तनको प्रतिक्षरत छन् । आज नभए भोली यो परिवर्तन हुने नै छन् ।