काठमाण्डौं - नेपालमा ठुलो बिवादको विषय बनेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को ५ अर्ब ३४ करोड रुपैयाँ खर्च भइसकेको पाईएको छ । उक्त परियोजना नेपालको प्रतिनिधिसभाबाट अनुमोदन नहुँदै उक्त खर्च भएको हो । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल) का अनुसार गत असार १६ गतेसम्म सो रकम खर्च भएको छ ।
जसमध्ये एमसीसीबाट २ अर्ब ७७ करोड र नेपाल सरकारको २ अर्ब ५७ करोड रुपैयाँ खर्च भएको रेकर्डमा देखिएको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले नेपाल सरकारबाट प्राप्त रकममध्ये १ अर्ब ४० करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरिएको जानकारी दिए । प्रशासनिक खर्चतर्फ हालसम्म १ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ८८ करोड रुपैयाँ एमसीसीबाट प्राप्त भएको हो ।
कर्मचारीको तलब, घरभाडा, मोटरको व्यवस्था, वित्तीय कारोबारसम्बन्धी परामर्शदाताको शुल्क, कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री खरिदलगायतमा सो रकम खर्च भएको उनले बताए ।
बिष्टका अनुसार एमसीए नेपालको कार्यालय सञ्चालनमा मासिक करिब १ करोड ३५ लाख रुपैयाँ खर्च हुन्छ । कार्यालयको भाडा र विद्युत महसुल मात्रै मासिक १६ देखि १७ लाख तिर्ने गरिएको छ । एमसीसी अमेरिकाको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड अमेरिकी डलर गरी ६३ करोड अमेरिकी डलर लगानी गरी परियोजना कार्यान्वयन गर्ने सम्झौता छ ।
सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै परियोजना सञ्चालनमा आउनेछ । नयाँ सरकार बने पनि एमसीसी पारित हुने नहुने अन्यौल छ । सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र लगायतका दलहरु संशोधन बिना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् ।