मंसिरको महिना छ । वसन्त ऋतुमा झै मौसम रमाइलो छ । विवाहको मौसम छ । कोइलीका कुहु कुहु आवाज जस्तै पञ्चेवाजाका धुनहरू जताततै गुञ्जरहेका छन् । दमाह र ट्याम्कोको आवाजसँगै टोटोलाका फुलहरुले पनि थाङ्मी पोशाकम मारुनी नाचीरहे झैँ लाग्छ । लाग्छ हरेक एकल चखेवाहरुले जोडी खोजिरहेछन् । १५ वर्षे वीर बहादुर थामीलाई भने विवाह गर्ने हतारो छैन् । तर उनका बाबु गोपाल थामीलाई भने छोराको विवाह गर्न ढिल्याएको महसुस गर्छन् र छोराको लाङ्मी पठाउँछन् । लाङ्मीहरु हरि थामी र गोरे थामीलाई बोर्को सल पट्याएर काँधमा राखी भिमसेन पातीको मुठा,एक एक मानाका कोदो फापर र मकैको रोटी तीन वटा,जाँड , रक्सी, कुखुरा वा अन्य सामाग्रीहरु लिएर वीर बहादुर थामीको लागि केटी माग्न पिपले थामीको घर वुसिङथलीबाट क्याङथली तिर लाग्छन् ।
“वीर वहादुर थामी काई याङ्थेवा लोङ्सा केलिन्....” पिँढीमा बस्दै लाङ्मी गोरे थामीले तिन पटक सम्म भने । जसको अर्थ हुन्छ । तपाईको हाम्रो छोरा वीर बहादुर थामीको लागि हजुरको छोरीको हात माग्न वा कन्यार्थ आयौं ।
लाङ्मी हरि थामीले थप्दै भने –“चल्दोमिल्दो कुटुम्बामा हात माग्न आयौं । वीरे पनि १५ बर्ष लागि सक्यो । हाम्री मनमाया छोरी पनि साँढे चौध वर्ष भै सकिन् क्यारे । अव लगनगाँठो जुराउनु पर्यो । कि कसो हजुर ?”
चकटीमा बस्दै सुर्तिको एक सर्को तान्दै मनमायाको बुवा पिपले थामीले भन्छन् –“कुरा त ठिकै गर्नुभयो । हुर्के बढेको चेली घरमा राख्नु हँदैन भन्छन् । पराइ घर जाने जात वेलैमा पठाउनु पर्छ नै ।” यतिकैमा आमा आइती थामी वोल्छिन् –“हुँदैन , हुँदैन छोरी सानी नै छे ।”
“तँलाई पनि त मैले ११ वर्षमा नै भूमेथानलाई साँची राखेर विहे गरेको हो नी विर्सिस् कि के हो मनेकी आमा ?” मनमायाका बुबा पिपले थामी भन्नुहुन्छ ।
छोरी दिन राजीखुसी भएपछि लाङ्मीहरुले ल्याएको सगुन स्विकार गरिन्छ । सगुन लङ्मी र छोरीको बाबुआमाले लिन्छन् ।
त्यसपछि केही दिनमा लमी खुट्टामेको रित,मुल सगुन खुवाउँछन् । लगत्तै लिसार लगिन्छ जसमा चामलको एक एक मानाको १८ वटा ढुङ्गे रोटी र सगुन पाँच वोतल रहेको हुन्छ । यही मंसिर महिनामा विवाह ल्याउने निधो गरिन्छ । लङ्मीहरुले आसा सिन्दुरी गरी साइत, वरियात ल्याइने तिथी मिति तोकिदिन्छन् । लाङ्मीले लगेका नौ वटा रोटीलाई टुक्रा पारी मनमायाको माइती मावलीलाई विवाहको निम्तो गरिन्छ । विवाहको अवधिमा मनमायाका माइति मावलीले वेहुलीलाई डोन खुवाएर जुठो सारिन्छ ।
मंसिर पच्चिसको अघिल्लो रात थामी संस्कार अनुसार वेहुला र वेहुली दुवैको घरमा ग्रह शान्ति गरिन्छ । यता रातभरीको ग्रह शान्तिपछि विहानको भत्तेर खाएर मड्यौलीहरुद्धारा बेहुलालाई बुकुन लगाउँछन् । बेहुला पहि¥याउन लाग्छन् । बेहुला आफ्ना जन्तिहरुसित घरवाट वेहुलीका घर तर्फ लाग्छन् । बेहुला बीर बहादुर सेतो लुगाको जामा जस्तो दौरा र सुरुवाल र सेतै लुगाको पगरी पहिरिएको हुन्छ ।
विहेको जन्ती लैजाँदा मादल डम्फु, मुरली झ्याली वजाउँदै साथसाथै मारुनी नाच पनि नचाउँदै वेहुला लिएर जन्तिहरु बेहुलीको घर तर्फ लाग्छन् ।
उता मनमाया सानी छिन् । खासै विवाहको अर्थ र परिभाषा पनि थाहा छैन् सायद् । उनलाई बेहुलीका साथीहरुले थाङ्मी वेहुलीको पहिरनमा सजाउँछन् । स्कुल जानुपर्ने कलिलो अनी घाँगर लगाउनुपर्ने वसन्तमा चोलि र फरिया लगाइ पराइघर जानुपर्ने वाध्यता भने उनका गाउँका अन्य चेलीहरुलाई झैं बाध्यात्मक नै हुन्छ ।
पत्र ल्याउने मानिसको आगमनको केही समयपछि जन्तीहरु बेहुलीको घरमा आइपुग्छन् । त्यसपछि स्वयंवर ,वरनी,वास माग्ने,उगो लाङ्सा,वेहुलीको गोडा धुने,लगनवाटेको सामाग्री,लगनवाटेको कापुठेसा विधी,टिकाटालो ,नुन्नु मोले,सैमन्द्रो,वेहुली माग्ने गीत जस्ता रितहरु पुरा गरेर वेहुली मागेर बेहुलाको घरमा लगिन्छ र वेहुलाको घरमा दिदीवहिनीहरुले बाटो छेक्ने लाङ फासा गर्छन् । मन्डे सेवा,सैमुन्द्रो वेहुलाको घरमा भित्राउने, वेहुली भित्र्याउने, दुरागुन फर्काउने, साङ्को पाङ्को जस्ता सम्पुर्ण विधि सकाएर मनमाया र वीर बहादुरको विवाह भव्यताका साथ सम्पन्न हुन्छ ।
मनमाया र वीर बहादुरको विवाहको करिव ५ पाँच वर्षपछि वीर वहादुरले नजिकैको मैया थामीसँग दोस्रो भागी विवाह गर्छ । जसले गर्दा मनमायालाई वीर बहादुरले सँधै हेयको दृष्टिले हेर्छ ।
त्यसपछि यो मनमायाको विवाह पश्चात्को छैटौँ वसन्त हो । उनीसँग पाँच वर्षको छोरी पनि छ । श्रीमान् कान्छी श्रीमतीसँग उनी भने एक्ली छोरी सुस्माको साथमा । महिनामा केही दिन मनमायासँग वित्ने बीर बहादुरको दैनिकीमा मनमायाले सदा जसो रक्सीको मातमा कुटाइ मात्र पाइरहन्छिन् । समय फरक र समय उदास छ । मौसम पनि विरक्त लाग्दो । शिशिर यामको आगमने वस्तिहरुमा चिसो सिरेटोले कठ्याङ्ग्रिन विवस जस्तो । लाग्छ ,विहानीसँगै उदाएको प्रचण्ड रविले पश्चिमि क्षितिजवाट रक्तिम पछ्यौरीको घुम्टो ओढ्दै विदा भै सकिन् । रविका उज्जवलित किरणहरुलाई कालरात्रीको कालोनिसाले विदाइका हात हल्लाइ सकिन् । यस्तै चिसो सिरेटोको स्षर्शसँगै व्यतित छ मनमायाका दिनचर्या । महिला हिंसा, अशिक्षा,अन्धविस्वास, रुडिवाद, सामाजिक दुर्व्यसन आदिका तुफानी हुरीहरु पनि हुनहुनाइरहेछन् यस वस्तिमा । अतः यसैको शिकार भइरहेछिन् मनमाया ।
“ड्याम...... ड्याम्म ... ” लाठीले कसैलाई कुटेको आवाज आउँछ वीर बहादुरको घरमा । “आइया......आइया...... मरेनी...... मार्यो नि ......।”मनमाया थामी चिच्याहट स्वरमा कराउँदैछिन् । फेरी वीर बहादुर थामी रक्सीले मातेको स्वरमा कराउँछ, “खाइस् कि.... ल....... खा .... तँलाई यसी चाहिएको हैन ? निस्की मेरो घरवाट ।” वीर बहादुरले मनमायाको कपालमा भुत्ल्याउदै लरवरिएको स्वरमा जगल्ट्याएर बाहिर निकाल्छ । पाँच वर्षकी छोरी सुस्मा “आमा......आ .....मा” भन्दै रुँदै चिच्याउँदै आमाको फरियामा झुण्डीरहेकी हुन्छिन् बाबाले आमालाई कुट्न छाड्नुहुन्थ्यो कि भनेर।
औंसीको अँध्यरी रात छ । रातको कालो निसासँगै जीवनमा अँध्यारोको वर्षा देखिरहेकी छिन् मनमायाले । मृत्यु या उज्यालो जीवन, सोच्नै सकिरहेकी छैनन् उनीे । त्यो कलिलो बाल उमेरमा विवाह वन्धनमा वाँधिएको दृश्य क्यामेराको रिल झैं मनमायाको मनमा घुमिरहेछ अपितु पिडाको हुरीले उनको मन मडारिँदै छ सामुन्द्रिक आँधि झैं । शरिर भरी लठ्ठी नै लठ्ठीको डामै डाम छ । कपाललाई रक्सी पिएका नरभक्षी श्रीमानले अस्तव्यस्त वनाएका छन् भने कपडाको हालत पनि उस्तै । विवाह पूर्व जस्तै उनीसँग चोखो यौवन छैन र छैन जवानी पनि । सदा झै आँखावाट तप.... तप....आँसुका समुन्द्रहरु वर्षिरहेका छन् । दिनहुँको सन्ध्यामा जसो यस्तो आवाज सुनिरहने मनमायाका छिमेकीहरुलाई पनि कुनै अचम्म र अनौठो थिएन यस साँझ । र त सदा झैं घाइते र चिथोरीएको मनलाई मल्हम लगाउन कुनै छिमेकीहरु पनि हाजिर भएनन् यो निष्ठुरी सन्ध्यामा ।
घर भित्र बीर बहादुर रक्सीको नसामा भाँडाकुँडा झटारी रहेछ । मनमाया भने आँसुले निथ्रुक्क भिजेको शरीर विसाउँछिन आँगनको डिलमा । त्यती नै वेला पाँच वर्षे छोरी सुस्मा मनमायाको काखमा अझ लेपेसिँदै रुँदै आमाको आँखाबाट झरिरहेको वलिन्द्र अश्रुधाराहरुलाई कोमल हातले स्पर्श गर्दै पुछ्दै भन्छिन् । “आमा.....नरुनु....न ।” छोरीको अवोध प्रेमले मनमायाको मन अझ भक्कानिन्छ र झन् आँखावाट अश्रुका खहरेहरु उर्लिरहन्छन् ।
एक अनमोल सारथी आफ्नी छोरीको जीवनको उज्यालोको लागि भए पनि मृत्यु रोजिनन् उनले । संझिइन यी हिराको लागि भएपनि बाँच्नैपर्छ । जसले उनलाई औंसीको निस्पट्ट रातमा समेत जीवन वाँच्ने सानो सहारा दियो ।
रातमा झ्याउँकिरीहरु कराइरहेछन् । क्याङथलीतिर हलुका कुकुरहरु भुकिरहेछन् । यस्तै अँध्यारोमा पनि सुर्ति खान उनको पोल्टामा रहेको लाइटरको सहारामा घस्रदै छामछाम छुमछुम गर्दै आफ्नो मायाको चिनो सानी पाँच वर्षे छोरीलाई काखी च्याप्दै माइति घरतिर लाग्छिन् उनी सँधैको लागि।
”हाँउ....... हाँउ.......“ चकमन्न मध्यरातमा अचानक कुकुर भुक्छ । यति राति को आएछ भनेर मनमायाको आमा पिपली थामी भुकम्पको वल्ल वनाएको झुपडीको ढोका उघार्दै टाढा सम्म हेरी रहन्छिन् । बुढेस काल लागेकी आमाले के ठम्याउन सक्थिन् र यस्तो अँध्यारोमा ।
“आमा म जेठी...”. मनमाया टाढावाट कराउछिन् ।
“तँ एती राती कतावाट .....” आमाले आँत्तिएको स्वरमा प्रश्न गर्छिन् ।
“आ.....मा आ.....मा तपाईको ज्वाइले फेरी कुट्यो ।”
यती भन्दै मनमाया अंकमाल गरेर रुन थाल्छिन् ।
“के गर्नु मने तेरो भाग्यनै यस्तै रैछ ।” आमा पिपली पनि रुन थालिन् । छोरी सुस्मा पनि हजुरआमा र आमाको फरिया समाउँदै रुँदैछिन् ।
यतिकैमा मनमायाको वुवा ओछ्यानबाट व्यूँझिन्छन् । त्यसपछी वाहिर आएर आमा छोरी र नातिनिलाई हातमा समाउँदै घरभित्र लैजान्छन् । त्यसपछि केही दिन माइतमा वसी मनमाया छोरी च्याप्दै काठ्मान्डौं लागिन् ।
करिव बाह्रौ वसन्त पार भैसक्यो मनमायाले काठ्मान्डौंको गल्लीहरुमा संघर्षको यात्रा थालनी गरेको पनि । काठ्मान्डौंका अपरिचित मनहरु ,अनौठो र अपरिचित पर्यावरण उनको जीवनको अनेकन सिकाइ संघर्षपूर्ण भयो । कहिले होटलमा जुठा भाँडा माझ्दै विहान वेहुकीको जोहो गर्थिन् । कहिले इटा भट्टामा इटा वनाउने काम त कहिले नाम्लो बोक्दै शहरको चोक चोकमा भारी पाउने प्रतिक्षामा कुरीरहन्थिन् । इँटाको गह्रौं भारी बोक्दा आउने तप तप पसिनामा पनि उनी आफ्नी छोरीको सुन्दर सपना सजिएको देख्थिन् । काठ्मान्डौंमा नौ दश तले घरको ढलानमा सिमेन्ट, इटा, वालुवा, गिट्टी आदि वोक्दा पनि छोरी ठूली बनाएर छोरीले यस्तै सुन्दर महल बनाउने सपना सजाउँथिन् । आँसु ,पीडा,रोदन उनको सारथी थियो । ज्यूने आश अल्झिएको थियो त केवल छोरीको स्पर्शमा ।
मानवियता हराउँदै गएको शहरमा शशिकला श्रेष्ठ उनको जीवनको साहरा वनिदिइन् । शशिकलाको घरको घरेलु कामदारको रुपमा जीवन निर्वाह गरी मनमायाले आफ्नी छोरी शुस्मालाई कक्षा १० सम्म निजी विद्यालयमा नै अध्यापन गराइन् । उनको साहरा भनेकी नै आफ्नी एक छोरी थिइन् । सुस्मा पनि अध्ययनको शिलशिलामा अव्वलता देखाउँदै गइन् र त निजी विद्यालयले पनि उनलाई कक्षा ६ देखि पूर्ण छात्रावृत्ति प्रदान ग¥यो । त्यसपछि उनले एस.एल.सी. परिक्षामा “दि माउन्टेन इङ्ग्लिस बोर्डिङ स्कुल” बाट ८५ प्रतिशत अङ्क सहित विशिष्ट श्रेणीमा उतिर्ण गरिन् ।
सुस्मा पढाइमा जेहेन्दार,मेहनती र अब्वल थिइन् । उनी परिपक्व छोरी वन्दै गइरहेकी थिइन् । अब आमाको पीडा राम्रैसँग बुझ्ने भइसकेकी थिइन् । आमाको असल छोरी वन्नुपर्छ भन्ने सुन्दर प्रतिवद्धता मनमा गढिसकेको थियो । एस. एल. सि. परिक्षा उतिर्ण गरे पश्चात उनी प्रविणता प्रमाणपत्र तहको अध्ययनका लागि उच्च माध्यमिक शिक्षा परिषद्मा पूर्ण छात्रावृत्तिको लागि परिक्षा दिइन् र नाम निकालेर पेन्टागन इन्टरनेशनल कलेजमा विज्ञान संकायमा दुइ वर्ष अध्ययन गरिन् र विशिष्ट श्रेणीमा ८७ प्रतिशत अंक सहित प्लस टु सकाइन् ।
अब सुस्मा स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने सोचाइमा हुन्छिन् । थ्री पि फाउन्डेसनले अमेरिकामा उच्चशिक्षाका लागि छात्रावृति खुलाएको कुरा थाङुमी अगुवाहरु मार्फत थाहा पाउँछिन् । फलस्वरुप छात्रवृत्ति छनौट परिक्षामा सफल भइ हाल अमेरिकाको फ्लोरिडा कलेजमा विज्ञान संकायका स्नातक तहमा अध्ययन गरिरहेकी छिन् ।
उनको आमा मनमाया ४० वर्ष पुगिसकेकी छिन् । उनी हाल भारतमा सानो होटल चलाएर वसेकी छिन् । छोरी पढेर अमेरिकावाट छिट्टै फर्किएर आफुलाई पाल्ने र एउटी सफल छोरी वन्नेमा भगवानसँग हरेक प्रभात कामना गरिरहेकी छिन् ।सुस्माको मावलाका हजुरवुवा विति सक्नुभयो । हजुरआमा जेनतेन ८० को दशकमा सन्ध्याको रवि झै जीवन विताइरहनु भएको छ ।
जेठको उभौली भूमेको समय थियो । सुस्माको मावलामा धेरै मानिसको जमघट भैरहेका थिए । गुरुआपाहरु गूरु भेषमा सजिएका थिए । भुमेथानमा सातुको पुच्यु र अन्य थाङ्मी पुजा सामाग्रीले भुमेथान सिङ्गारिएको थियो ।गुरुआपाहरु र अन्य मानिसहरु सै होले बोन्पो सै हो सै हो नाचिरहेका थिए । रमाइलो परिवेशमा उभौली भुमे पुजा सकाएर विहान भालेको मासु , भात ,पुच्यु र अन्य प्रसादहरु खाएर आराम गरिरहेको बेला सुस्माको हजुरआमाले सुस्माको मामालाई फोनमा सुस्मासँग कुरा गर्ने इच्छा व्यक्त गरिन् । नभन्दै सुस्माको मामा सग्र्याहाङले म्यासेन्जरमा भिडियो ग्रुप च्याट गरे । सुचना र प्रविधिको सहायतावाट परिवारका सबै एकैसाथ भिडियो च्याटमा जोडिए । आमा मनमाया भारतको आफ्नो मेहनतको सानो पसलवाट ,सुस्मा अमेरिकावाट र अरु सुस्माको मामा ,हजुरआमा ,सानीमाको छोराछोरी आदि नेपालवाट म्यासेन्जर ग्रुपमा भिडियो सहित जोडिए ।जव भिडियोमा अचानक सवैले एक अर्काका अनुहारहरु प्रत्यक्ष रुपमा अवलोकन गरे सवै एकआपसमा रुन थाले । तर यो खुसीको आँसु थियो ।
रुँदै ,आँसु पुछ्दै हजुरआमा सुस्मालाई भन्नुहुन्छ,.... “नातिनी तँलाइ कस्तो छ ?”
“मलाई एकदम सन्चै छ ,हजुरआमा । तपाईहरु चिन्ता नगर्नुहोस् । कोरोनाको जोखिमले गर्दा हाम्रो अनलाइन कक्षा चलिरहेको छ ।”...आफ्नो हृदयलाई कडा बनाउँदै आँसु पुछ्दै सुस्मा वोल्छिन् ।
मनमाया पनि रुँदै आँसु पुछ्दै सुस्मालाई सोध्छिन् ......“छो...री...... आफ्नो ख्याल गर । कोरोनाको रोगको डर त्यता पनि धेरै छ रे । हुँ हुँ हुँ.......” सबै भक्कानिएर रुन थाल्छिन् ।
सुस्माले आमालाई सम्झाउँदै भन्छिन् ...“चिन्ता नगर्नुस् । आमा!म तपाईको साहारा हुँ । जीवन दुख, सुखको संगम हो । हामी पिडामा पनि खुसी हुन सक्नुपर्छ । दुखले मलाई ठुली वनाउनु भयो । अव तपाईकी छोरी ठुली भैसकेकी छे। अव रुने दिन सकिए आमा । हाँस्ने दिन आए । म पढाइ सकाएर केही समयपछि नेपाल फर्किएपछि आमा, हजुरआमा लगाएत सबैलाई खुसी र सुखी वनाउनेछु । थाङ्मी समुदाय लगाएत हाम्रो समुदायको कुरीति अन्धविश्वास हटाएर समाजको असल छोरी वन्ने सपना सजाएको छु ।”
भिडियोमा देखिएकी सानीआमाको छोरीलाई देख्दै सुस्माले भनिन्...“.ए ! ए ! सानीमाको छोरी रस्मि पनि रैछिन् .. हेर रस्मि यो पढ्ने समय हो । मेहनतले पढ्नुपर्छ । करिअर वनाउनुपर्छ । राम्रोसँग उच्च शिक्षा लियौं भने स्ववलम्बी नागरिक वन्न सक्छौं र यो समाजको विकृतिका विरुद्ध लड्न सक्छौं । महिला विरुद्ध हुने हरेक उत्पिडनको डटेर सामना गर्न सक्छौं । हाम्रो थामी समुदाय र सिङ्गो समाजलाई समेत विकासको गतिमा बढाउन सक्छौं । अतः शिक्षा मानव सभ्यता विकासको पहिलो शर्त हो, अनिमात्र जीवनको उज्यालो बाटो सम्भव छ ।”
त्यस पछि राम्रो पढ्ने र पढाइ सकाएर नेपाल फर्किने र फेरी फेरी पनि कुरा गर्ने प्रतिवद्धता सहित सुस्मा आफ्नी आमा, हजुरआमा र आफन्तहरुवाट छुटिन्छिन् ।