Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
महासंघको भवनका लागि ९ वटै स्थानीय तहबाट सहयोग जुट्यो, मेलुङ गाउँपालिकाको ३ लाख

चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको सूचनामैत्री भवन निर्माणको लागि मेलुङ गाउँपालिकाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सदरमुकाम चरिकोट स्थित लामाचौरमा निर्माणाधिन भवनका लागि गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले आज सहयोग स्वरुप तीन लाख रुपैयाँको चेक महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरे ।

भवनको एकतला निर्माण कार्य भने सम्पन्न भएपनि तला थप्ने र अन्य पूर्वाधारको काम बाँकी छ । अध्यक्ष लामाका अनुसार भवनको एकतला निर्माण कार्य सम्पन्न भएपनि फर्निचर, कम्प्यूटर लगायतका सामग्री व्यवस्थापन गर्न बाँकी छ । सूचना केन्द्रसहितको भवन निर्माण भएकाले समाजसेवी, संघसंस्था, सहकारी र नगर तथा गाउँपालिकाहरुहरु सहयोग जुट्ने क्रम जारी छ ।

स्थानीय सरकारको तर्फबाट यसअघि भीमेश्वर नगरपालिकाले ६ लाख, तामाकोशी गाउँपालिका १ लाख ५० हजार, वैत्यश्वर गाउँपालिका २ लाख, गौरीशंकर गाउँपालिका २ लाख २५ हजार, कालिञ्चोक गाउँपालिका २ लाख ५ हजार, जिरी नगरपालिका २ लाख, शैलुङ गाउँपालिका २ लाख र विगु गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

मेलुङ गाउँपालिकाले पनि हस्तान्तरण गरेपछि जिल्लाका ९ वटै स्थानीय तहबाट भवन निर्माणका लागि सहयोग जुटेको छ । महासंघको भवन निर्माणको लागि पत्रकारहरु स्वयमले आफ्नो जन्मदिन, पुरस्कार, सम्मानमा पाएको रकम समेत भवन निर्माणलाई सहयोग गर्दै आएका छन् । संकलित रकमले व्यवस्थित हलसहित ३ वटा कार्यसञ्चालनको लागि कार्यालय निर्माण कार्य सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update