आहा ! बसन्तको हरियाली, हराभरा शैलुङका डाँडापाखा । प्रकृति र अध्यात्मको दोभान मानिने शैलुङ पुग्दा धर्तिकै स्वर्ग पुगेको अनुभुति हुन्छ । तन र मनमा आनन्द र ऊर्जा भरिन्छ । तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का । धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ । कुनै अग्ला त कुनै होचा । जैविक विविधताका हिसाबले हेर्दा वनजंगल, जडीबुटी, जंगली जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ ।
छिनमै घाम, छिनमै बादल । कहिले कुहिरो र सिर्सिरे बतास । एकै छिनमा वर्षा । सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका । अनेक बान्कीका थुम्काहरू । जता हे¥यो त्यतै कलात्मक परिदृश्य । हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने ।
कस्तो भव्य थुम्काथुम्की ! सिपालु कलाकारले सीप लगाएर राखेजस्ता । सुकिला, सफा र स्निग्ध । मसिनामसिना भुइँघाँस र भुइँफूलहरू । मानौं, दुबोजस्तै देखिने एकनासका घाँसे गलैँचाले छोपिएका छन्, थुम्काहरू ।
शैलुङका पोषिला घाँस र जडिबुटी खाने चौरीको दूधको स्वादको त के बयान गर्नु छ र ? दोलखा र रामेछाप दुबै जिल्लाको शिर हो, शैलुङ । पानीढोलोको आधारमा एकातिर पानी बग्ने भाग दोलखा र अर्कोतिर पानी बग्ने जति रामेछाप । दोलखाका शैलुङ र मेलुङ दुई गाउँपालिका पानीढोलोको एकातिर पर्छ भने रामेछापको दोरम्बा गाउँपालिका अर्कोतिर । यी ३ गाउँपालिकालाई अँगालेर आफ्नो बृहत प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ शैलुङ ।
सुमसुम्याई राखूँझैँ, त्यही लडीबुडी खेली राखूँझैँ लाग्ने प्रिय थुम्काथुम्की । अनेक थुम्काथुम्की स्पर्श गर्दै शैलुङे डाँडा घुम्दा असीमित आनन्दानुभूति हुन्छ ।
हिन्दू र बौद्धमार्गीहरूको साझा पवित्र भूमिका रूपमा पनि चिनिन्छ शैलुङलाई । जनविश्वसअनुसार बौद्ध परम्पराका प्रथम अवतार साङ्गे म्हार्मोचे, पाँचौं पद्मसम्भव र सातौं गौतम बुद्धले पनि यस क्षेत्रमा तपस्या गरेको उल्लेख गरिन्छ ।
प्राकृतिक सौन्दर्यले सजिएको यस क्षेत्रमा प्राचीन कालका अनेक ऋषिमुनि र तपस्वीहरूले तपस्या गरेका यहाँका गुफाहरू पनि हेर्न लायक छन्। शैलुङ्गेश्वर महादेवको मन्दिर पनि एउटा भव्य ओडारभित्र नै छ ।
माथिमाथि मसिनामसिना घाँसले मात्र छोपिँदा गलैचा ओछ्याएजस्ता सफा, सुन्दर र हरिया थुम्काहरू । तलतल अनेक बोटबिरुवा र जडीबुटीले घेरिएएका जङगलहरू ।
‘वैशाखदेखि असोजसम्म जता हे¥यो त्यतै हरियाली । असोजदेखि पुससम्म पहेँलपुर भुइँफूल । पुसको अन्तिमदेखि फागुनसम्म हिउँले सेताम्मे । फागुनदेखि वैशाखसम्म चिमाल र लालीगुराँस फुलेर ढकमक्क, मौसम अनुसारको सौन्दर्यले छाड्दैन शैलुङलाई ।