चरिकोट - व्यवसायी दिनेश बस्नेतको लगानीमा दोलखामा पहिलो पटक तारे होटल सञ्चालनमा आएको छ । सदरमुकाम चरिकोट स्थित अदिति कम्प्लेक्समा बस्नेतले तारे होटलमा उपलव्ध हुने सुविधासहित होटेल एम्ब्रोसिया सञ्चालनमा ल्याएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले शनिवार आयोजित एक समारोहकाबीच होटलको शुभारम्भ गरे ।
होटलमा ३५ वटा कोठाहरु छन् । जसले एकसाथ १ सय जना गेष्ट राख्ने क्षमता राख्छ । होटलमा ५ सय जना क्षमताको सुविधासम्पन्न बैंक्वेट र १ सय क्षमताको मिटिङ हल र रुफटपमा रेष्टुराँ रहेको छ । होटलमा भवन बाहेक १० करोड भन्दा बढि लगानी भएको संचालक बस्नेतले बताए ।
उनका अनुसार होटलमा रुफटप रेष्टुराँँ, बैंक्वेट र सोना स्टिमको समेत सुविधा उपलव्ध हुनेछ । ‘होटलको बेड र कोठा पाँचतारे स्ट्यान्डर्डकै बनाइएको छ, तर बेड संख्या कम भएकाले दुई तारे होटलको रुपमा संचालनमा ल्याईएको हो, होटल संचालक बस्नेतले भने, त्यसका लागि आवश्यक पूर्वाधारहरू पर्याप्त छ ।’
व्यावसायिक प्रायोजनका लागि बस्नेतकै लगानीमा निर्माण भएको सातदोबाटो स्थित अदिति कम्प्लेक्समा होटल संचालनमा आएको हो । २०७७ को असोजमै होटल सञ्चालनमा ल्याउने भनिएको होटल कोरोना महामारीका कारण शनिवार उद्घाटन गरिएको छ ।
होटलको रेष्टुराँलाई सामान्यदेखि भीआईपीहरूलाई लक्षित गरी तयार पारिएको छ । जिल्लामा सुविधासम्पन्न होटलको अभावमा जिल्ला भ्रमणमा आउने धेरै पर्यटकहरुले एकैदिनमा फर्किनुपर्ने समस्या झेल्दै आएका छन् । यो होटलले त्यस्ता पर्यटकहरुलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
दोलखाका सफल व्यवसायी मानिने बस्नेत गोर्खा ब्रुअरी, सूर्य नेपालको आधिकारिक बिक्रेता र कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगका पनि संचालक हुन् । बस्नेतकै नेतृत्वमा जिल्लामै पहिलो सुपरमार्केट ‘सुपर नाइन मार्ट’ र सफल इन्टरप्राइजेज सञ्चालनमा छन् ।