✍️ कुसुम घिमिरे
गुरुब्रम्हा, गुरुविष्णु, गुरुदेवो महेश्वर : गुरु साक्षात परब्रह्मा तस्मै श्रीगुरवे नमः
भनिन्छ, हाम्रो जीवनको सबैभन्दा पहिलो पाठशाला घर अनि हाम्रो पहिलो गुरु हाम्रो बाबा अनि आमा । मन्दिर भनेर बनाईन्छ, भगवान भनेर पुजिन्छ तर आफ्नो घर भन्दा ठूलो मठमन्दिर अनि बाबाआमा र गुरु भन्दा ठूलो कुनै भगवान हुन सक्दैनन् । मेरो जिन्दगीमा सबैभन्दा प्रिय शब्द गुरु । म आफूले आफूलाई त्यति विशेष मान्दिन होला सायद जति विशेष म गुरु शब्दलाई मान्छु । गुरु शब्द दुईवटा अक्षर मिलेर बनेको छ जसमा गुु को अर्थ अन्धकार र रुु को अर्थ हो प्रकाश ।
अँध्यारोमा जीव त्यतिबेलासम्म भड्किन्छ जतिबेलासम्म प्रकाश पाउँदैन । त्यसैले गुरु नै ती व्यक्ति हुनुहुन्छ, जसले अन्योल र अज्ञानतामा रुमलिएका व्यक्तिहरूलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्नुहुन्छ । गुरु भेट्नुअघि व्यक्ति बहिर्मुखी हुन्छ : बाहिर–बाहिर अरूसँग नजिक हुन खोज्छ तर जब गुरु भेट्छ, तब ऊ स्वयंभित्र अरूलाई होइन, आफूलाई खोज्न थाल्छ ।
गुरु संसारको सबैभन्दा ठुलो खुुसी सहित मेरो जीवन बगैंचाको त्यो सबैभन्दा सुन्दर फूल, यही दुई शब्दबाट हजुरको पाउमा सुम्पेकी छु । मेरो आजसम्मको हरेक पाइलामा साथ दिएर जसरी एउटा कोपिलालाई सुन्दर फूलको आकृति दिनुभयो, अनि जुन प्रेरणाले मलाई यहाँसम्म पुर्याउनुभयो, साँच्चिकै गुरु देवताको रुप हुनुहुन्छ ।
गुरुसँगको साइनो आफैंमा अमूल्य छ । जसको बयान गर्न यो शब्दकोशमा कुनै पनि शब्द छैनन् होला सायद । मैले मेरा गुरूहरुसँगको सामीप्यताको सबैभन्दा पहिलो दिनदेखि आजको दिन सम्मका केही क्षणहरु सम्झिन चाहें । मेरो ममीले भन्नुहुन्थ्यो बच्चाहरु पहिलो दिन विद्यालय जानुपर्दा त रुन्थे । म दुई (तीन वर्षकी हुँदा पहिलो दिनमा मेरो मामाले मलाई विद्यालय लैजानुभएको थियो रे अनि म रोएँ होला भनेर खाजा खाने घण्टीमै मलाई घरमा लैजान भनेर लिन आउनुभएको तर म नमानेर एकैपटक विद्यालय छुट्टी भएपछी मात्र टि.आर भन्ने एकजना गुरुको काँधमा चढेर घरमा आएको र केही समयसम्म त्यही क्रम चलेको कुराबाट पनि म गुरुप्रति निकै प्रभावित भएकी छु ।
हरेकको जिन्दगीमा अनेक उतारचढावहरु आउँछन् । त्यस्तै मेरो जिन्दगीमा पनि निकै उतारचढावहरु आए होलान्। जसको सहायताका लागि मेरा परिवार त मेरो साथमा हुनुहुन्थ्यो नै, तर परिवार सबैतिर पुग्न सक्ने कुरा पनि भएन । त्यसकारण मैले शिक्षा लिने क्रममा मेरो विद्यालयमा मेरा गुरुहरु यदि बुझ्ने नभइदिनुभएको भएपनि म आज यस स्थानसम्म आइपुग्न सक्दिन थिएँ होला ।
हुन त मेरो जीवनमा आउनुभएका हरेक गुरुहरू उत्कृष्ट नै हुनुहुन्छ । केही कुरा म गर्न सक्दिन भनेर पछि हट्दा हैन तिमीले सक्छौ भनेर हौसला दिनुहुन्थ्यो । मलाई सजिलो होस् भनेर परीक्षामा नोटहरू आफैँ बनाएर दिनुहुन्थ्यो । सबै किताब अनिवार्य लानुपर्ने नियम सबै विद्यार्थीमा लागू हुँदा मलाई सिर्फ एउटा मात्र कपी लिएर जाँदा पनि छुट हुन्थ्यो । पहिलो बेन्चबाटै बोर्डमा लेखेको नदेख्ने समस्याले गुरुहरूलाई पढाउन निकै मुस्किल पथ्र्यो ।
एकजना सरले भन्नुहुन्थ्यो मलाई बोल्दै लेख्दै गर्न धेरै गाह्रो लाग्छ, तर मेरो लागि त्यो अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुभयो । मलाई अचम्म बनाएर मलाई थाहै नदिइ मेरो घरमा मलाई भेट्न आउनुहुने मेरो एकजना आदरणीय नेपाली गुरु, मलाई मैले नसम्झिदा पनि बेला बेलामा फोन मेसेज गर्नुहुने अनि आजभोलि कता हरायौ केही लेख्न पनि छोड्यौ भन्दै सम्झिनुहुने अनि मेरा लेखहरूमा सल्लाह सुझाव प्रतिक्रिया दिनुहुने मेरा केही गुरुहरु आदि इत्यादि ।
गुरु संसारको सबैभन्दा ठुलो खुुसी सहित मेरो जीवन बगैंचाको त्यो सबैभन्दा सुन्दर फूल, यही दुई शब्दबाट हजुरको पाउमा सुम्पेकी छु । मेरो आजसम्मको हरेक पाइलामा साथ दिएर जसरी एउटा कोपिलालाई सुन्दर फूलको आकृति दिनुभयो, अनि जुन प्रेरणाले मलाई यहाँसम्म पुर्याउनुभयो, साँच्चिकै गुरु देवताको रुप हुनुहुन्छ । म त लडिसकेकी रहेछु, जब साथ मिल्यो मलाई हजुरको, मेरा यी आँखाहरु खुले ।
मेरो जीवन यात्राको क्रममा अठोट गरेकी छु अब केवल सङ्घर्ष गर्नेछु जिन्दगीभरी, गर्नेछु प्रयास सधैं मेरा सपनाहरुको यथार्थको धरातलमा उतार्न । हिँड्नेछु पहाडका खोंचहरु अनि तर्नेछु सयौँ नदीहरु । किनकि हजुर मेरो साथ हुनुहुन्छ मेरो हर थकाइको प्रतिक्षालय बनेर । हजुरलाई मेरो बिश्वास छ, सपनाको कुनै समय हजुर मबाट अनि म हजुरबाट धेरै टाढा भएपनि म सम्झिरहनेछु हजुरले सिकाएको जिन्दगीको पाठहरु ! गुरु म बाँचिरहेको हर प्रहरको प्रमाण हुनुहुन्छ हजुरः अनि मैले भोग्ने जिन्दगीको प्रत्येक मोडहरुको, आवश्यकता हो हजुर ! त्यसैले मेरो लागि हजुरले सिकाएको प्रत्येक शब्द शब्द जीवनको प्रत्येक गोरेटोमा यादगार रहनेछन् मेरो छायाँ बनेर ।
अनि म चाहन्छु, मलाई पछ्याइरहुन् हजुरका ती सत्य बिचारहरुले । मेरो हरेक मन्जिलका पाइलाहरुको सार्थकता बनेर, मेरो चाहनाको पर्खालहरुसँग लडी, आज जुन ठाँउमा उभाउनुभयो, साँच्चिकै के भनेर सम्बोधन गरुँ हजुरलाई ? साँझ पछिको बिहान भनूँ , अज्ञान पछिको ज्ञान भनूँ , म हजुरलाई यस्तै यस्तै भनूँ, नाम पछिको सम्मान भनूँ , म लड्नेछु सङ्घर्षका किताबहरुसँग । हजुरले सिकाएजस्तै, पछि नहटी जीवनलाई पुर्ण बनाउन ।
म मेरा सम्पूर्ण गुरुहरूको प्रत्येक गुणको ऋणी भएकी छु । सायद नै यो ऋण म तिर्न सक्दिन होला । उहाँहरूले देखाउनुभएको सुमार्गमा हिँड्दा मैले आफूलाई भाग्यमानी ठानेकी छु । जय गुरु !!!