Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशका १३ जिल्लामा कस्तो छ, अपराधिक घट्नाको स्थिति ? (हेर्नुस् तथ्यांक)

हेटौंडा – वाग्मती प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष बिभिन्न अपराधहरुको संख्या घटेको तथ्यांक प्रहरीले सार्बजानिक गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लाको दुई वर्षको तुलनात्मक अपराधको बिवरण प्रदेश प्रहरी कार्यालयले सार्बजानिक गरेको हो । जस अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४५९४ बिभिन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा ४३४३ वटा मात्रै मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा ५.४६३ प्रतिशतले बिभिन्न अपराधका मुद्धा दर्ता संख्या घटेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।  

प्रहरीका अनुसार आव २०७७/७८ मा कर्तव्य ज्यान ६३, ज्यान मार्ने उद्योग १०५, जूवा ५६, ठगी २६, लागु औषध २६०, अपहरण तथा शरिर वन्धक ७, हातहतियार खरखजना २७, बैंकिङ कसुर २८, मानव वेचबिखन तथा ओसारपसार ५, सवारी ज्यान २६० र चोरी १७६ गरी कुल १०१३ वटा मुद्धा दर्ता छन् । अघिल्लो आर्थिक वर्ष सोही प्रकृतिका १०९९ वटा मुद्धा दर्ता भएका थिए । 

गएको आर्थिक वर्ष जम्मा १०३६ जनाले बिभिन्न तरिकाले आत्माहत्या गरेका छन् । अघिल्लोे आवमा उक्त संख्या ९३५ थियो । अघिल्लो आवको तुलनामा आत्माहत्या घट्नाको दर १०.८० प्रतिशतले बढेको हो । अघिल्लो आवमा आत्माहत्या दुरुत्साहन सम्बन्धि १५ वटा घट्ना भए भने गएको आवमा १४ वटा त्यस्ता घट्ना भएका छन् । 

महिला, वालवालिका सम्बन्धी अपराध बढ्यो
वाग्मती प्रदेशमा महिला तथा बालवालिका सम्बन्धि अपराध भने बढेको तथ्यांक छ । आर्थिक वर्ष २०७६÷७७ मा उक्त प्रकृतिका ४०६ मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा बढेर ५१० पुगेको छ । पछिल्लो एक वर्षको अबधिमा अघिल्लो वर्षको तुलनामा १०४ वटा मुद्धा बढि दर्ता भएका हुन् । गएको आवमा जवरजस्ती करणी ३०७, जबरजस्ती करणी उद्योग ८९, बहुविवाह ८२, वालविवाह ९, बोक्सिको आरोप १३, जातीय छुवाछुत २, वालयौन दुराचार ४६, मानव बेचबिखन ५, गर्भपतन २ र आत्माहत्या सम्बन्धि ५१० वटा घट्ना भएका छन् । 

यसैगरी गएको आर्थिक वर्ष घरेलु हिंसा सम्बन्धी ११२६ वटा मुद्धा दर्ता भएका छन् । जसमा सबैभन्दा बढि मकवानपुर जिल्लामा २७६ र सबैभन्दा कम रसुवा जिल्लामा ५ वटा रहेका छन् । घरेलु हिंसा सम्बन्धी ७३८ वटा मुद्धा मिलापत्र गराईएको छ भने १४१ वटा सम्बन्धित निकाय पठाईएको छ । ३७ जना सम्पर्कमा नआएको र २१० वटा प्रक्रियामा रहेको छ । 

महिला तथा वालवालिका सम्बन्धी अपराधको तथ्यांक तीन वर्ष यता निरन्तर बढेको तथ्यांक छ । गएको आर्थिक वर्षमा त्यस्ता अपराध १५.६१ प्रतिशतले बृद्धि भएको हो । 

सवारी दुर्घट्ना र मुद्धा दर्ता
तथ्यांकले सवारी दुर्घट्ना पनि बढेको देखाएको छ । आव २०७६ ७७ मा जम्मा ७९३ वटा सवारी दुर्घट्ना भएर ४०७ जनाको मृत्यु भएकोमा ३३३ वटा मुद्धा दर्ता भएका थिए । आव २०७७ ७८ मा १५१२ वटा सवारी दुर्घट्ना भएर ३४९ जनाको मृत्यु भएको छ । २९५ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा मुद्धा दर्ता ११ प्रतिशत र मृत्यु संख्या १४ प्रतिशतले घटेको छ भने दुर्घट्ना संख्या ९१ प्रतिशतले बढेको देखिएको छ । 

गएको आर्थिक वर्ष हातहतयिार सम्बन्धि २७ वटा मुद्धा दर्ता भए भने ३९ जना व्यक्ति पक्राउ परेका छन् । लागु औषध सम्बन्धि २६० वटा मुद्धा दर्ता र ४११ जना व्यक्ति पक्राउ परेका छन् । 
तथ्यांकमा हेर्नुस् बिस्तृत बिवरण :

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update