काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । उक्त समुहका सहित २२ एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिएपछि पहिलो पटक बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले बरिष्ठ नेता नेपालसहितका नेताहरुविरुद्ध सडकमा भइरहेको बिरोध र नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव भीम आचार्यले पार्टी एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको जानकारी दिए । बैठकमा उपाध्यक्ष भीम रावल भने सहभागि भएनन् । ‘
एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ, बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’