काठमाण्डौं - सत्तारुढ नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशन चुनावी प्रक्रिया घटाएर सम्पन्न गर्ने तयारी गरेको छ । नेताहरुका अनुसार पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने तयारी गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ ।
उक्त बाध्यतालाई समेत मध्येनजर गर्दै वडा, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको एक नेताले बताए ।
कांग्रेसको विधानमा टोलदेखि केन्द्रसम्म आठ तहका संचरनाको व्यवस्था छ । टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिसहतिका संरचना छन् ।
महाधिवेशन मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाई भएपछि यस्तो निष्कर्षमा पुगिएको ती नेताको भनाई छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन यही भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।