काठमाडौँ - ऋणीबाट दोब्बर व्याज असुली गर्ने दोलखा मेलुङ गाउँपालिका–१ पवटीका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलुङ–१, पवटी घर भई हाल काठमाण्डौंको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती रहेका छन् । करिब साढे १९ करोड ४३ लाख रुपैयाँ बराबरका विभिन्न बैंक र वित्तीय संस्थाका चेकसहित उनलाई शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाबहिल मित्रपार्कबाट पक्राउ गरेको हो ।
सीआईबीका डीआईजी धीरजप्रताप सिंहले अदालतबाट आज (आइतबार) म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए । उप्रेतीले दुई जनालाई गत चैतमा ४ करोड १९ लाख रुपैयाँ ऋण दिएकोमा ऋणीलाई धम्क्याएर ८ करोड ३० लाखको चेक लिएका थिए । उप्रेती मित्रपार्कमा ‘रिकन्डिसन हाउस’ सञ्चालन गर्छन् ।
दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख र रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । उप्रेतीले कार्कीबाट १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।
गुभाजुलाई ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएकोमा ४ करोड १४ लाखको चेक लिएका थिए । तोकिएभन्दा चर्को ब्याज तिर्न दबाब दिँदै उनले बन्धक बनाउने, अफिसमै बोलाएर कुटपिट गर्न थालेपछि पीडित सीआईबीमा पुगेका थिए ।
डीआईजी सिंहका अनुसार चेकमा उल्लेख गरिएको मिति गुज्रिएपछि उप्रेतीले ऋणीलाई ज्यान मार्नेसम्मका धम्की दिने, बन्धक बनाउने लगायत अपराध गर्ने गरेको खुलेको छ ।
स्रोत : कान्तिपुर