काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्की आएको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै नेता रावलले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।
‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ, विज्ञप्तीमा उनले उल्लेख गरेका छन् ।’
माधव नेपाल पक्षबाट उनी कार्यदलको संयोजक थिए । कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरी अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाललाई बुझाईसकेको छ । आफ्नो चरित्र हत्या गर्न अध्यक्ष ओलीसँग निकटता बढेको र पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै भ्रामक समाचार प्रकाशित गरिएको उनको भनाई छ ।
विज्ञप्तीमा एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको प्रष्ट पारेका छन् । ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको रावलको दाबी छ ।