चरिकोट- संकट र महाविपत्तीका बेला सँधै अग्रपंक्तिमा रहने नेपाली सेनाले कोरोना भाईरस (कोभिड १९) रोकथाम र नियन्त्रणमा बैकल्पिक तयारी गरेको छ । भुकम्प, बाढि पहिरो जस्ता दैवी प्रकोष वा प्राकृतिक विपत्तीमा सबैभन्दा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको सेना कोरोनाको सम्भावित जोखिम रोख्न हाईअलर्टमा छ ।
कोरोनाले जुनसुकै बेला व्यापक संक्रमणको रुप लिएर मानविय क्षति हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै सेनाले सम्पुर्ण तयारी गरेको हो । दोलखा सदरमुकाम चरिकोट स्थित तारादल गणले पनि जिल्लामा हाल गरिएको तयारीले धान्न नसक्ने अवस्थामा बैकल्पिक तयारी गरिरहेको जनाएको छ ।
हाल तयार गरिएका क्वारेन्टाईन र आईसोलेसनले धान्न नसक्ने अवस्था आए सेनाले तत्काल ४० जनालाई उपचार गर्नसक्ने गरी बैकल्पिक तयारी गरेको गणपति निखिल कुँवरले जानकारी दिए । ‘जिल्लामा कोरोनाले महामारीको रुप लिएको अवस्थामा जिल्लाबासिको जिवन रक्षका लागि स्रोत साधन र क्षमताले भ्याएसम्म सम्पुर्ण रुपले परिचालित हुन्छ, जिल्ला स्थित संचारकर्मीसँगको छलफलमा उनले भने ।’
उनका अनुसार कोरोना संक्रमण भएर संकटको अवस्था आए सदरमुकाम चरिकोट स्थित टुडिखेलमा ४० बार्ड क्षमताको आईसोलेसन र क्वारेन्टाईनको व्यवस्था गरिएको छ । सेनाले ६ घण्टाभित्र क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गर्नेगरी तयारी गरेको हो । त्यसका लागि स्वास्थ्य जनशक्ति, उपकरण, टेन्टसहितको संरचना निर्माणका लागि आवश्यक सामग्री तयारी अवस्थामा छ ।
लकडाउनपछि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा अहिले कोरोना भाईरस्को संक्रमणको जाखिम र रोकथामको उपायबारे जनचेतनामुलक कार्यक्रम गरिरहेको सेनाले जनाएको छ । सदरमुकाम चरिकोट, जिरी नगरपालिका, तामाकोसि गाउँपालिको किर्नेटार, मेलुङ र विगु गाउँपालिकाको गांगरमा नेपाली सेना परिचालित छ ।