Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँपालिकाको सक्रियता : अभिलेख संकलन सकियो, प्रचारप्रसार र अनुगमन तिब्र

चरिकोट-महामारीको रुपमा फैलिएको कोरोना भाईरस् (कोभिड १९) रोकथामका लागि जिल्लाको कालिञ्चोक गाउँपालिकाले सक्रियता बढाएको छ । सो गाउँपालिकाले सरकारको निर्देशनपछि लगत्तै विदेशबाट जिल्ला फर्किएकाहरुको बिवरण संकलन गर्ने अग्रसरता देखायो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीहरु निकै खटिए ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये कालिञ्चोकले विदेशबाट फर्किएकाहरुको अभिलेख तयार पार्ने काम लगभग सकिएको जनाएको छ । दुई हप्ताको अवधिमा गाउँपालिका भित्र ७५ जना व्यक्तिहरु बाहिरबाट आएको तथ्यांक संकलन गरिएको छ । जसमा भारतबाट सबैभन्दा बढि ७१ जना र दुवईबाट ३ र मलेसियाबाट १ जना छन् ।

विदेशबाट फर्किएकाहरुको बिवरण संकलनसँगै उनीहरुको उच्च निगरानी सहितको व्यवस्थापन, प्रचारप्रसार र काउन्सिलिङमा गाउँपालिका लागिपरेको छ । कालिञ्चोक क्षेत्रका कुरीमा संकास्पद भनिएका विरामीको पनि त्यही पुगेर स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्यो ।

प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले अहिले लकडाउनको निरीक्षणसँगै प्रचारप्रसार र स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा केन्द्रित भएको बताए ।

आईतवार मात्रै ७ वटा वडामा निरीक्षण र प्रचारप्रसारका साथै ४ वटा स्वास्थ्य संस्थामा औषधी पुर्याईएको उनले जानकारी दिए ।

त्यस क्रममा गाउँघरमा हुने जमघट र भिडभाड न्युनीकरण गर्न सचेतना जगाउने गरिएको छ । उनका अनुसार गाउँपालिकामा उपलब्ध एम्वुलेन्स सेवापनि तयारी अवस्थामा राखिएको छ । उक्त कार्यमा अधिकृत ओलीसँगै स्वास्थ्य तर्फका शुसिल श्रेष्ठ र धिरेन्द्र चौधरीसहितको टोली सक्रिय देखिएको छ ।

गाउँपालिका अध्यक्ष विन कुमार थामीले कोरोना भाईरस्को सम्भावित जोखिम रोकथामका लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सम्पूर्ण रुपले परिचालित भैरहेको बताए । बिदेशबाट फर्किएकाहरुको घर घरमै पुगेर सचेत गराईएको छ, स्वास्थ्यसंग सम्बन्धित कुनै समस्या आउन नदिने लागिपरेका छौँ, उनले भने ।

कालिञ्चोक गाउँपालिकाले सिंगटी बजारमा आईसोलेसन वार्ड संचालनमा ल्याईसकेको छ । अध्यक्ष विन कुमार थामी, उपाध्यक्ष कालिका पाठकले आईसोलेशनको शुभारम्भ गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update