Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विदेशबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न निर्देशन

चरिकोट – दोलखामा कोरोना भाईरस (कोभिड १९) जोखिम रोकथाम र नियन्त्रणका लागि सम्पुर्ण स्रोत साधन परिचालन गर्दै पूर्व तयारीलाई प्रभावकारी बनाईने भएको छ । कोरोना भाईरस जोखिम न्युनीकरण जिल्ला समन्वय समितिको शनिवार बसेको बैठकले कोरोनाको लक्षण देखिएका विरामीको उपचार देखि लकडाउनका कारण उपभोग्य बस्तुको अभाव हुन नदिने लगाएतका विषयमा महत्वपुर्ण निर्णय गरेको हो ।

समन्वय समितिका संयोजक डवल पाण्डेका अनुसार बैठकले बाहिरी देशबाट आएका नागरिकहरुको बिवरण छिटो संकलन गरी घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ । परीक्षणका क्रममा उनीहरुमा ज्वरो लगाएतका संक्रमण देखिएमा आईसोलेशनमा राखि उपचार गरिनेछ । उनीहरुको स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य जाँच गर्ने र त्यस्ता व्यक्तिहरुलाई सकभर क्वारेन्टाईनमा बस्न अनुरोध गर्ने, बैठकको निर्णयमा भनिएको छ । ठुलो संख्यामा विदेशबाट जिल्ला भित्रिएकाहरुको स्वास्थ्य परीक्षण नभएको भन्दै व्यापक गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।

कोरोनाको लक्षण देखा परेका विरामीहरुलाई आईसोलेसनमा राखि नियन्त्रण तथा रोकथामका लागि सदरमुकाम चरिकोट सहित, जिरी, सिंगटी र किर्नेटारमा व्यवस्थित आईसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । चार स्थानमा स्थापना गरिने आईसोलेशन कक्षलाई प्रभावकारी रुपमा संचालनमा ल्याउन सोही अनुसार स्रोत साधन र जनशक्तिको व्यवस्था गरिने बताईएको छ । स्थानीय तहहरुले आफ्नै अनुकुलतामा आईसोलेशन र क्वारेन्टाईन तयार गरेकोमा चार स्थानको आईसोलेशनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको हो ।

कोरोना भाईरसको लक्षण देखा परेका विरामीहरुको स्वाव टेष्ट हाल प्रस्तावित चरिकोट अस्पतालमा गरिदै आएकोमा अब जिरी अस्पतालमा पनि उक्त सेवा बिस्तार गरिने भएको छ ।

संयुक्त कोष
यसैगरी जिल्ला विपद व्यवस्थापन समितिमा रहेको रकम, प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त रकम केन्द्रित गरी संयुक्त कोष स्थापना गर्ने निर्णय बैठकले गरेको छ । कोषमा जम्मा भएको रकमबाट जिल्लामा संक्रमित बिरामीहरुको चरिकोट अस्पतालमा उपचारको ब्यवस्था गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको कोषमा रहेको रकम खर्च स्वीकृतिका लागि गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखामा पत्राचार गरिँदैछ ।

यस्तै बैठकले सबै स्थानीय तहलाई आ–आफ्नो स्थानीय तहमा उपभोग्य बस्तुहरुको मौज्दातको अवस्था विश्लेषण गर्न भनेको छ । उपभोग्य बस्तुको अभाव देखिएमा स्थानीय प्रशासन र प्रहरीको सहयोगमा बाहिरबाट आपुर्तीको व्यवस्था मिलाईनेछ । स्थानीय तहका भिडभाड र जमघट हुने सार्वजानिक स्थलहरुमा सरसफाई कार्य गर्दै किटनाशक औषधी छर्कने निर्णय भएको छ ।

प्रमुखहरुको संयोजकत्वमा कोरोना जोखिम न्युनीकरण समन्वय समितिलाई यथाशिघ्र गठन गर्न पनि बैठकले सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।  बैठकमा सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत लगाएत सहभागि थिए ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update