दोलखा–नेपालमा हालसम्म जति जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ, उनीहरु सबै विदेशबाट फर्किएकाहरु हुन् । फ्रान्स, कतार, कुवेत लगायत देशहरुबाट आएका चार जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । कोरोना फैलिने मुख्य स्रोत बिदेशबाट आएका व्यक्तिहरुलाई लिईएको छ । शुक्रवार मात्रै धनगढीमा चैत्र ७ गते नेपाल भित्रिएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । तर बाहिरबाट आएका व्यक्तिहरुको निगरानी र आवश्यक चेकजाँच गर्ने विषयमा भने सम्बन्धित निकाय उदासिन देखिएका छन् ।
दोलखामा भारत, मलेसिया, कतार, जापान, बंगलादेश लगायत मुलुकबाट सयाँैको संख्यामा मानिसहरु प्रवेश गरेको अनुमान छ । उनीहरुमा संक्रमण हुनसक्ने सम्भावना प्रति जिम्मेवार निकायले बेवास्ता गर्दा स्थानीयमा मनोवैज्ञानिक त्रास बढेको छ । यसबारे स्थानीय जनप्रतिनिधि र अधिकारीहरुलाई जानकारी भएपनि उनीहरुको पहिचान, उच्च निगरानी र स्वास्थ्य परिक्षणतर्फ गम्भिर चासो नदिईएको हो । कोरोना भाईरसको आशंकामा स्वाब परीक्षण गरिएका ५ जना व्यक्तिहरुलाई पनि आईसोलेसनमा नराखी घर पठाईएको छ ।
जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि दर्जनौँ क्वारेन्टाईन र आईसोलेसन तयार गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा पाँच दर्जन बढि आईसोलेसन तथा क्वारेन्टाईन वार्ड तयारी अवस्थामा छन् । बिदेशबाट फर्किएकाहरु गाउँघरमा खुलेआम हिडडुल गरिरहँदा क्वारेन्टाईन भने रित्तै छन् ।
भिमेश्वर नगरपालिकाको किरातीछापमा कतार र भारतबाट आधा दर्जन व्यक्तिहरु भित्रिए । उनीहरु गाउँमै अरु मानिससरह गतिविधि गरिरहेका छन् । टेलिफोन सम्पर्कमा आएका त्यहाँका एक स्थानीयले विदेशबाट आएकाहरुहरुमा कोरोना संक्रमण पुष्टि भैरहेका बेला यहाँ त्यस्ता व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर चेकजाँच गर्नुपर्नेमा सम्बन्धित निकायले नजरअन्दाज गरेको बताए ।
कालिञ्चोक गाउँपालिकामा दुई हप्ताको अवधिमा ६४ जना भित्रिएको बिवरण संकलन गरिएको छ । गाउँपालिकाले उनीहरुलाई सार्वजानिक सूचना मार्फत घरमै सुरक्षित रहन र सार्वजानिक स्थलमा ननिस्कन सचेत मात्रै गराएको छ । त्यस्ता व्यक्तिहरुलाई कडा निगरानी र उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुको सट्टा अन्य स्थानीय तहहरुले पनि सूचना मार्फत सचेत गराउने गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बिदेशबाट जिल्ला फर्किएका सबैलाई सुविधासम्पन्न क्वारेन्टाईनमा राख्न सक्ने सम्भावना नरहेपनि यसबारे छिट्टै ठोस निर्णय हुने बताए ।
कोरोना भाईरस (कोभिड १९) को सम्भावित नियन्त्रण र जिल्लामा प्रभावकारी समन्वयका लागि जिल्ला समन्वय समितिका संयोजक डवल पाण्डेको संयोजकत्वमा जिल्ला समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । समितिमा सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।